पार्टी विभाजन हुन दिँदैनौँ, सुधार र पुस्तान्तरणका लागि संवाद आवश्यक: बडू
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २८ सोमबार
1.8k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीभित्रको विवादले विभाजनको रूप लिन नदिन आफूहरू सक्रियतापूर्वक लागिपर्ने बताए। सोमबार बिहान डा. शेखर कोइराला पक्षका नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता बडूले अहिलेको मुख्य प्राथमिकता पार्टीलाई एकीकृत र सुरक्षित राख्नु रहेको उल्लेख गरे।
पार्टीभित्र देखिएको पछिल्लो परिस्थितिले सबै कार्यकर्तामा चिन्ता बढाएको चर्चा गर्दै उनले महामन्त्री र संस्थापन दुवै पक्षलाई विभाजनको बाटो नरोज्न सुझाव दिइएको जानकारी दिए। "हाम्रो मुख्य उद्देश्य पार्टी विभाजित नहोस् भन्ने हो, हामीले महामन्त्रीहरू र संस्थापन पक्षलाई पनि मिलेर जान तथा पार्टीमा आवश्यक सुधार र पुस्तान्तरणको मुद्दालाई सम्बोधन गर्न आग्रह गरेका छौँ," बडूले भने।
नेता बडूका अनुसार पार्टीलाई विवादरहित ढङ्गले अघि बढाउन डा. शेखर कोइरालाले मध्यस्थताको भूमिका निभाउने तयारी गरेका छन्। कोइरालाले दुवै पक्षका शीर्ष नेताहरूलाई बोलाएर संवाद गर्ने प्रतिबद्धता जनाएको र यसले पार्टीलाई विभाजनको जोखिमबाट बचाउने विश्वास बडूले व्यक्त गरे। विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आएको यो भनाइलाई कांग्रेसभित्रको शक्ति सन्तुलन मिलाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।