महासङ्घको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ : अध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
636
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घले आसन्न ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन्।
भक्तपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले महासङ्घको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यक रहेको र आफूले सो पहल गर्ने बताए।
अध्यक्ष ढकालले महासङ्घले निजी क्षेत्रको साझा छाता सङ्गठनको रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको बताए। निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन नहुने विषयको पैरवी देखि अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दजर्नौं कानून संशोधनमा महासङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। “उत्पादन, रोजगारी र लगानी प्रवर्द्धनका लागि नीतिगत स्थायित्व र सरकार–निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ,” महासङ्घले गरेको निरन्तरको प्रयासले धेरै नीतिगत सुधारहरू भए। उनले भने, मुलुक भित्र लगानी प्रवर्द्धन र नीतिगत सुधारमा महासङ्घको बलियो उपस्थिति देखिएको छ।”
यद्यपि, पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको चर्चा गर्दै उनले यो अवस्थामा निजी क्षेत्रले शान्ति सुरक्षा लगानी गर्ने वातावरणको सुनिश्चितता खोजिरहेको धारणा राख्नु भयो।
मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता रहेका बताउँदछे उनले भाद्र २३ र २४ को गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठ गरी उद्योग व्यवसाय तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानूनी कारबाही गर्नु पर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रको नेतृत्वमा लगानी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै अध्यक्ष ढकालले त्यही उद्देश्यका साथ महासङ्घको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरी काम भइरहेको बताए।
यो कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता,उत्पादनमूलक क्षेत्रमा लगानी रोजगारी सिर्जनाको उद्देश्य राखेको बताउँदै उनले स्थानीय उद्यमीहरूले यो अवसरलाई सदुपयोग गर्न आग्रह गरे।
भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले मात्र होइन, परम्परागत हस्तकला, घरेलु उद्योग, साना तथा मझौला व्यवसायको केन्द्रका रूपमा पनि परिचित जिल्ला भएको उल्लेख गर्दै उनले स्थानीय उद्योग, व्यवसाय र पर्यटन प्रवर्द्धनमा स्थानीय वाणिज्य सङ्घहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।