निजी क्षेत्रको नेतृत्वमा मात्रै दिगो आर्थिक विकास सम्भव: मन्त्री सिन्हा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
668
Shares
काठमाडौँ। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको समृद्धिका लागि निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै मुख्य आधार भएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै मन्त्री सिन्हाले मुलुकको आर्थिक भविष्यलाई बलियो बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
मन्त्री सिन्हाले नेपाल र युरोपेली सङ्घ (ईयू) बीचको ऐतिहासिक सम्बन्धलाई अब मजबुत आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राखे। उनले नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एउटै मञ्चमा ल्याएर लगानीकर्ताहरूबीचको सम्बन्ध सुदृढ बनाउनु र विद्यमान व्यापारिक गाँठो फुकाउनु आजको प्रमुख आवश्यकता रहेको तर्क गरे।
कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनुपर्छ। सरोकारवालाहरूबीचको यस्तो संवादले नेपाल र युरोपेली सङ्घबीचको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै हाम्रो समृद्धिको साझा लक्ष्य पूरा गर्न ठुलो सहयोग पुर्याउनेछ।’ मन्त्री सिन्हाले ईयूसँगको व्यापारिक र लगानी सम्बन्धलाई थप उचाइमा पुर्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार तयार रहेको सङ्केत समेत दिएका छन्। यस कार्यक्रमले नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।