परालको टौवामा उम्रिएको च्याउ खाँदा एकै परिवारका चार जना बिरामी
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
585
Shares
गोरखा । गोरखा नगरपालिका–१४ प्युघरमा परालको टौवामा उम्रिएको च्याउको तरकारी खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्।
मकवानपुर घर भई हाल गोरखामा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउका कारण बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतबहादुर विकले जानकारी दिए।
सोमबार साँझ घर नजिकैको परालको थुप्रोमा उम्रिएको च्याउ टिपेर तरकारी बनाएर खाएपछि आमा हीरासहित उनका १२ वर्षीय छोरा किसान, ६ वर्षीय छोरा हिमाल र ५ वर्षीया छोरी सुजिता बिरामी परेका हुन्। च्याउ खाएलगत्तै उनीहरूमा पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकान हुने जस्ता लक्षणहरू देखिएका थिए।
बिरामी परेका सबैलाई तत्काल उपचारका लागि तनहुँको आँबुखैरेनी गाउँपालिका अस्पताल पुर्याइएको छ। अस्पतालका अनुसार हाल सबै बिरामीको अवस्था स्थिर रहेको र उनीहरू बोल्न सक्ने अवस्थामा रहेका छन्। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ।