मनास्लुको फेदीमा हीरक महोत्सव, प्रथम आरोहीको सम्मान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
289
Shares
गोरखा । मनास्लु हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पूरा भएको अवसरमा मनास्लुको फेदी सामागाउँमा हीरक जयन्ती मनाइएको छ ।
चुमनुब्री गाउँपालिकाको आयोजनामा तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एशोएसन अफ नेपाल (टान) लगायत संस्थाको सहआयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सुरेन्द्रराज पाण्डेले मनास्लु आरोहणको हीरक जयन्ती नेपालका लागि पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
सो अवसरमा मनास्लुका प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र नेपाली आरोही उर्गेन छिरिङ शेर्पा को सालिक अनावरण गरिएको थियो ।
मुख्यमन्त्री पाण्डे र गाउँपालिका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी तथा नाति रसोयुके इमानिसीलाई सम्मानपत्र र दोसल्ला प्रदान गरे ।
सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डीकी लामालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा भोटेलामा समुदायको सेर्का नाचसहित विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
विश्वको आठौँ तथा नेपालको सातौँ अग्लो मनास्लु हिमाल पहिलो पटक सन् १९५६ मे ९ मा तोसियो इमानिसी र उर्गेन छिरिङ शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए ।