बिजनेस क्लासमा आउनेलाई अध्यागमनमा राम्रो सेवा दिनुपर्छः ढकाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
768
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरूलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताएका छन् ।
विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासा आएको भन्दै उनले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गरे ।
ढकालका अनुसार प्रिमियम तिरेका यात्रुलाई सोहीअनुसारको सेवा नदिँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवर्द्धन प्रत्यक्ष असर पारिरहेको हुन्छ ।
बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले भने, ‘कसैले विजनेश क्लासको टिकट किनेको छ र विजनेस क्लासको प्रिमियम तिरेको छ भने अध्यागनमनको लाइनमा उसले त्यही अनुसारको सुविधा खोज्छ। हामीले गर्ने डिजिसजनहरू कतिपय सरसर्ती हेर्दा अध्यागमनमा नेपालीहरूलाई त ठिकै छ तर विदेशीहरूले तिरेको प्रिमियम अनुसारको सुविधा पाएका छैनन् । प्रिमियम तिरेकाहरूलाई सोही अनुसारको सुविधा नपाउँदा बाहिर नकारात्मक सन्देश जान्छ र यसले पर्यटन प्रवर्द्धनमा असर पारिरहेको छ ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पाहुनाको आगमन, बसाई तथा गतिविधिसम्बन्धी सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत अभिलेखीकरण गर्नु राम्रो भएको बताए ।
यसले नेपाल सुरक्षित र सहज गन्तव्य हो भन्ने आधार निर्माण गरेको छ । जोशीकाअनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटकको आगमन भएको छ ।
पूर्वाधारको अवस्था सुधारिँदै गए र सेवा सुविधा सहज बन्दै गएमा पर्यटक संख्या २५ लाख हुँदै ५० लाखसम्म पुग्ने देखिन्छ । पर्यटक संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा सुरक्षाका दृष्टिले पनि अभिलेख राख्नु अत्यन्त आवश्यक रहेको उनको भनाइ छ ।
जोशीले भने, ‘विदेशी पहुनाको आगागमन , बसाइ र गतिविधिसम्बन्धी सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत अभिलेखीकरण गर्न थालेको छ । यसले सुरक्षित, सहज गन्तव्य नेपाल हो भनेर आधार निर्माण गरेको छ । हामीले हेर्दा नेपालमा २०२५ मा ११ लाख ६० हजार पर्यटक आगामन भएका छन् । पूर्वाधारका स्थीतिदेखि अरु सहज हुँदा २५ लाख ३५ हुँदै ५० लाखसम्म पर्यटक नेपालमा आउन सक्नेछन् । यतिधेरै ठूलो संख्यामा पर्यटक बढ्दै जाँदा पर्यटकको सुरक्षाका लागि पनि अभिलेख राख्नुपर्छ । पर्यटकका नाममा कतिपय अपराधिक मानसिकतामा आउनेहरुलाई निगरानी गर्न सकियो भने त्यस्ता कार्यहरू नियन्त्रण गर्न सहजता हुन्छ ।’
जोशीका अनुसार पर्यटकको नाममा अपराधिक मानसिकता लिएर आउने व्यक्तिहरूको निगरानी गर्न सके यस्ता गतिविधि नियन्त्रण गर्न सजिलो हुनेछ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष, सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताए।
उनका अनुसार हवाई मात्रै नभई सडक, यातायात सुरक्षित भए वाह्य मात्र नभई आन्तरिक आन्तरिक पर्यटनसमेत बढ्नेछ । धेरै मानिसको पहुँच सार्वजनिक यातायातमा रहेकाले यसको सुधारले समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।
उपाध्यक्ष सिटौलाले भने, ‘नेपालको सार्वजनिक यातायात क्षेत्रलाई राम्रो, चुरुस्त दुरुस्त बनाउन सकियो भने वाह्य मात्रै नभई आन्तरिक पर्यटकको वृद्धि हुन्छ । धेरै मान्छेको पहुँच सार्वजनिक यातायातमा छ । प्रहरीहरुले चलानीमा कम्तीमा सातै प्रदेशमा तपाइले टिकट काटेर चढ्नुभएको छ की छैन गाडीमा भनेर ६० प्रतिशत यातायातका समस्या समाधान हुन्छ । टिकटहरु यात्रुले काटेर गयो भने यात्रुहरू सुरक्षित हुन्छ ।’
उनका अनुसार टिकट प्रणालीलाई कडाइका साथ लागू गर्न जरुरी छ ।