arrow

निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैन - अध्यक्ष ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १६ बुधबार
chandra-pd-dhakal-16-09.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पारेका छन् । 

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य, सामुहिक पहल कार्यक्रममा उनले लगानीको वातावरण नबनेको भन्दै सरकारलाई वातावरण बनाउन आग्रह गरे ।

उनका अनुसार समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको छ । निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन नसकेको सकेको छैन । 

ढकालले गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशंका बढेको बताए। उनका
अनुसार उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्वाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महशुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन । लगानी नभइ रोजगारी हुँदैन । रोजगारी नभइ आयस्तरमा सुधार हुँदैन । आयस्तर बढ्न सकेन भने मानव बिकासमा अपेक्षाकृत सुधार पनि हुन सक्दैन । शिक्षा र स्वास्थ्य सर्वसुलभ बनाउन राजश्व बढ्नु पर्छ । राजश्व बढन निजी क्षेत्रले काम गर्न पाउने वातावरण र काम गर्न प्रोत्साहित गरिने नीति आवश्यक छ ।

अध्यक्ष ढकालले भने, ‘पछिल्लो डेढ वर्षदेखि सरकार करिब डेढ खर्ब रुपैयाँले घाटामा छ । बैंकहरू करिब ११ खर्ब रुपैयाँ लगानी गर्न तयार छन् । निजी क्षेत्र रकम लिएर उद्यम गर्न चाहँदैन । त्यसैले राजश्वको रकमले कर्मचारीको तलब भत्ता पनि नपुग्ने अवस्था आएको छ ।’ 

उनले भने, ‘पूर्वाधारमा लगानी हुन सकेको छैन । निजी क्षेत्रले निर्माण गर्ने पूर्वाधारमा पनि विभिन्न बहाना बनाएर अवरोध हुने गरेको छ । पूर्वाधार निर्माण र उद्योग कल कारखाना भएनन् भने रोजगारी कसरी सम्भव होला ? स्वदेशमै रोजगारी दिने कल्पना कसरी सम्भव होला ? सरकारले वर्षको तीन हजारदेखि ३५ सय जनालाई मात्रै रोजगारी दिनसकेको छ । निजी क्षेत्र संकुचित हुँदा त्यहाँ पनि अवसर छैन । त्यसैले युवाहरू विदेशिन वाध्य छन् । विदेशमा पुगेर निजी व्यवसायमा नेपाली युवाहरू काम गर्न हुने हो भने नेपालमै निजी उद्योग तथा प्रतिष्ठानमा काम गर्न किन नहुने ? समस्या एउटै छ, यहाँ निजी क्षेत्रले काम गर्न पाएको छैन । नीतिगत अवरोध छ । प्रक्रियाहरू झन्झटिला छन् । व्यवसायी मैत्री वातावरण बन्न सकेको छैन । सर्वसाधारणमा समेत निजी क्षेत्रप्रति नकारात्मक भावना छ । पछिल्लो समयको आगजनी र तोडफोडले थप निराश बनाएको छ ।  त्यसैले नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सामुहिक पहल आवश्यक भएको महसुस गर्यो । र, आज समाजका सबै सरोकारवालाहरूलाई यहाँ आमन्त्रित गरेका हौ । यही र यस्तै सार्वजनिक कार्यक्रममार्फत् हामीले अर्थतन्त्रमा ८१ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रप्रतिको यहाँहरूको दृष्टिकोण जान्न खोजेका हौँ ।’

आफूहरूले राजनीति प्रतिवद्धता चाहेको भन्दै अध्यक्ष ढकालले राजनीतिक स्थायित्वका लागि निर्वाचन गरी लोकतन्त्र संस्थागत गर्न जरुरी रहेको बताए । 

उनका अनुसार यदि निजी क्षेत्रलाई सुरक्षित र सम्मानित भै काम गर्न नदिए सफल हुन सकिँदैन । यदि निजी क्षेत्र असफल भए त्यो असफलतामा मात्रै सीमित नरहेर आउने पुस्तामा पनि असफलतामा जानेछ । 

ढकालले नेपालको राजनीतिमा ७५ बर्षमा आधा दर्जन बढी निर्णायक र परिवर्तनकारी राजनीतिक आन्दोलन भएपनि समयानुकुल सर्वसाधारणको जिविकामा अपेक्षाकृत सुधार हुन नसकेको समेत बताए ।   

अध्यक्ष ढकालले भने, ‘देशका रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजश्व संकलनमा योगदान एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्वाध पेशा व्यवसाय गर्न पाउने र सम्पतीको हकसम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी उद्योग व्यवसाय क्षेत्रलाई प्राथमिक महत्वको क्षेत्रका रुपमा नेपाल सरकार (मन्त्री परिषद) बाट पारित गरी निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति लागू गरियोस् भन्ने हाम्रो माग हो । यो रणनीति निर्माण गरी लागू गर्नु आजको आवश्यकता हो ।’

अध्यक्ष ढकालले निर्धारित समयमै निर्वाचन होस् र स्थायित्व कायम होस् भन्ने निजी क्षेत्रको चाहना रहेको समेत बताए । उनका अनुसार यो वा त्यो बहानामा आगामी दिनमा निजी क्षेत्रमाथि आक्रमण हुने वातावरण कहीँ कतैबाट सिर्जना हुनुहुँदैन । मुुलुकमा दण्डहीनताले प्रश्रय पाउनु हुँदैन । निर्वाध पेशा व्यवसाय गरी खान पाउने सबैको नैसर्गिक अधिकार भएकाले उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ