काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया र मताधिकारको महत्त्व बुझाउन जिल्ला निर्वाचन कार्यालयले विद्यार्थीमार्फत सचेतना फैलाउने अभियान थालेको हो।
विशेष गरी कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको यो कार्यक्रमअन्तर्गत भोजपुर नगरपालिका–१२ स्थित यशोधरा माध्यमिक विद्यालयमा अभिमुखीकरण सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार विद्यार्थीलाई मतदान प्रक्रिया, गोप्य मतदानको महत्त्व र लोकतान्त्रिक प्रणालीमा नागरिकको कर्तव्यबारे जानकारी दिइएको छ। विद्यार्थीले सिकेका कुरा घर–घरमा पुर्याउँदा अभिभावक र समुदाय पनि सजिलै सचेत हुने विश्वास कार्यालयले लिएको छ।
जिल्लाका विभिन्न विद्यालयमा निरन्तर सञ्चालन गरिने यो अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउनुका साथै बदर मतको संख्या घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आगामी फागुन २१ को निर्वाचनमा भोजपुर जिल्लाबाट कुल १ लाख २५ हजार ७६६ मतदाता सहभागी हुने तथ्याङ्क छ। विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले निर्वाचन कार्यालयको यो सक्रियताले युवा पुस्तालाई जिम्मेवार नागरिक बनाउन प्रभावकारी भूमिका खेल्ने बताए।