arrow

सबै बैंकलाई दृष्टिविहीन मैत्री बनाउनुपर्छ : शिशिर खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
sishir-khanal-apanga-mahasang.jpg

काठमाडौँ । नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले सबै बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन मैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवर्घन कार्यक्रममा उनले नेपालको बैंकिङ प्रणाली अझै पनि अपाङ्गता मैत्री हुन नसकेको बताए।

उनले एक दृष्टिविहीन व्यक्ति बैंकमा खाता खोल्न जाँदा अदालतबाट साक्षी प्रमाणित गरेर ल्याएमात्र खाता खोल्न मिल्ने भनिएको अनुभव सुनाउँदै यस्ता घटना देशका विभिन्न स्थानमा दोहोरिइरहेको बताए ।

कतिपय दृष्टिविहीन व्यक्तिहरूले बैंकसँग संघर्ष गरेर भए पनि सेवा लिइरहेका भए पनि सबै दृष्टिविहीन नागरिकले सहज रूपमा बैंकिङ सेवा पाउन नसकेको उनले गुनासो गरे ।

‘हामी आफैंले सेवा प्रयोग गर्न सक्छौं, निर्धक्क भएर बैंकिङ कारोबार गर्न सक्छौं भनेर स्पष्ट पार्दा पनि बैंकहरूले उल्टै तपाईंहरूकै पैसाको सुरक्षाका लागि भन्दै सेवामा कडाइ गरेर हामीमाथि प्रतिबन्ध लगाउने काम गरेका छन्,’ उनले भने ।

दृष्टिविहीन व्यक्तिहरूले आफू सक्षम रहेको विश्वास दिलाइसकेपछि पनि सेवाबाट वञ्चित गर्नु नहुने उनको भनाइ छ ।

खनालले नेपाल राष्ट्र बैंकसँग यस विषयमा विभिन्न चरणमा छलफल गरिए पनि व्यवहारमा ती विषयहरू कार्यान्वयन हुन नसकेको बताए । साथै बैंकहरूले दृष्टिविहीन व्यक्तिहरूलाई सहज रूपमा कर्जा सेवा नदिने गरेको गुनासो पनि उनले गरे।

‘म राम्रो आम्दानी गर्न सक्छु, परिवारको जिम्मेवारी लिन सक्छु भनेर विश्वास दिलाउँदा पनि कर्जा जस्ता आधारभूत सेवा पाउन सकेका छैनौँ,’ उनले भने ।

उनले आर्थिक कारोबारको अधिकार सुनिश्चित गर्न बैंकरहरूसँग विभिन्न चरणमा अन्तरक्रिया आवश्यक रहेको बताए ।

जिल्लामा जाँदा दृष्टिसम्बन्धी समस्या भएका नागरिकलाई अशिक्षित नागरिकसरह व्यवहार गरिने गरेको उल्लेख गर्दै उनले बैंकहरूले दृष्टिविहीन व्यक्तिलाई अशिक्षित तथा ज्येष्ठ नागरिकसरह व्यवहार गर्दा उनीहरूको स्वाभिमानमा चोट पुग्ने बताए ।

यस्ता विभेदपूर्ण व्यवहार अन्त्य गर्न सबै बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन मैत्री बनाउन अब ढिलाइ गर्न नहुने खनालको जोड थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ