फागुन २१ मै निर्वाचन नभए देश ठूलो अनिश्चयमा जान्छ : महामन्त्री थापा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
2.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अनिवार्य रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अहिले समयमै निर्वाचन हुन्छ की हुँदैन भन्ने अनिश्चय पैदा भएको भन्दै निर्वाचन समयमै हुनुपर्नेमा जोड दिँदै उनले परिणाम खोज्ने भन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने कुरा प्रमुख रहेको स्पष्ट पारे ।
अहिले संविधान ट्रयाक भन्दा बाहिर गएको उल्लेख गर्दै महामन्त्री थापाले समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने अवस्था रहेको बताए ।
हरेक पाँच वर्षमा निर्वाचन हुनुपर्ने कुरा २०१५ सालदेखि नै हुनुपर्ने भए पनि हुन नसकेको जिकिर गर्दै थापाले त्यो बेलामा संवैधानिक राजतन्त्रले हुँदा पनि कुनै फरक नपरेको बताए।
महामन्त्री थापाले भने, ‘आज एउटा ठूलो अनिश्चय छ । चुनाव हुन्छ की हुँदैन ? होला की नहोला । भुनाव भएन भने के होला ? चुनाव हुँदै गर्दा शान्तिपूर्ण हुन्छ की हुँदैन । एउटा पाटो हो । फागुन २१ गते चुनाव गर्नेकुरा अनिवार्य छ । चुनावको परिणाम के होला ? हाम्रो लागि कति अनुकुल होला ? कति प्रतिकुल होला ? त्यो हाम्रो आन्तरिक विषय हो । हामी छलफल गरौँला, त्यसलाई अनुकुल बनाउने कोशिस गरौँला । थप मेहनत गरौँला । तर फागुन २१ गते चुनाव हुने कुरा किन महत्वपूर्ण छ भने संविधान ट्रयाक भन्दा बाहिर गएको छ, लिक भन्दा बाहिर गएको छ । संविधानलाई लिकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने, निर्वाचनले नयाँ संसद ल्याउँछ, नयाँ संसदले विस्तारै यसलाई आफ्नो काम गर्ने हो । नेपालमा चुकेको कुरा भनेको २०१५ सालमा पाल्र्यामेण्ट आयो, ५ सालमा निरन्तर निर्वाचन भएको भए नेपाल आज अर्कै ठाउँमा हुन्थ्यो, संवैधानिक राजतन्त्र हुन्थ्यो, केही फरक पर्दैन थियो नि त । अब चुनाव भएन भने हामी एउटा ठूलो अनिश्चयमा जान सक्छौँ ।’