arrow

भोजपुरमा धान उत्पादनमा गिरावट: अनियमित मौसमले किसानलाई सास्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
dhan-bhojpur.jpg

भोजपुर | यस वर्ष अनियमित मौसमका कारण भोजपुर जिल्लामा धान उत्पादनमा गिरावट आएको छ। समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो। “मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्”, उनले बताए।

तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष घटेर ३६ हजार ९९८ मेट्रिक टन मात्र उत्पादन भएको छ। उत्पादन मात्र होइन, धानखेती गरिएको क्षेत्रफल पनि घटेको छ। गत वर्ष १२ हजार १५४ हेक्टरमा धान रोपिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती गरिएको छ। बेमौसमी वर्षाले गर्दा करिब ७८ हेक्टर क्षेत्रफलको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रको तथ्याङ्कले देखाउँछ। यस वर्ष जिल्लाभर करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको थियो।

जिल्लाका सबै स्थानीय तहका तल्लो भेग तथा बेँसी क्षेत्रमा धानखेती हुने गर्दछ। कतिपय उपयुक्त बेँसी क्षेत्रमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आए पनि यस वर्ष मौसम प्रतिकूल हुँदा ठुलो नोक्सानी बेहोर्नुपरेको किसानहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ