कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने महत्त्वपूर्ण राष्ट्रिय शक्ति हो: गगन थापा
कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने र गल्ती कमजोरी सुधार्नुपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २९ सोमबार
2.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन्।
नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुने र राष्ट्रिय शक्ति चुक्दा त्यसको मुल्य देशले समेत चुकाउनुपरेको बताए।
महामन्त्री थापाले कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको नभई देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक रहेकोमा जोड दिए। उनले विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्याएको र आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भनेर प्रमाणित गरेको उल्लेख गरे।
भीडलाई उचाल्ने र उत्तेजित बनाउने काम कांग्रेसको नभएको भन्दै उनले कुशासनबाट आजित भएका नागरिकलाई सम्हालेर देशलाई सुशासन तथा विकासको उचाईमा पुर्याउने जिम्मेवारी रहेको बताए। उनले 'कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने र गल्ती कमजोरी सुधार्नुपर्ने' बताए। विगतमा पार्टी छोडेकाहरूको पुनरागमनले कांग्रेसले शक्ति हासिल गर्ने महामन्त्री थापाको भनाइ थियो।
यसै कार्यक्रममा कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले विगतको स्थानीय चुनावमा कांग्रेसले जिल्लाभर ५६ प्रतिशत जीत हासिल गर्न सफल भएको उल्लेख गर्दै यसपटक कांग्रेसले थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार र वडा नं १३ का वडाध्यक्ष गणेश केसी, सुशील सापकोटा, जितेन्द्र गजुरेललगायत नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए।