भिजिट भिसा दुरुपयोग प्रकरण: भट्टराईसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
756
Shares
काठमाडौँ। भिजिट भिसा दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित सात जना व्यक्ति र दुई वटा कम्पनीलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले सात चैत २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि यो भिजिट भिसा प्रकरण सतहमा आएको थियो।
विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार, सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रिन लाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, र जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ।
अख्तियारको अभियोगपत्रअनुसार, प्रतिवादीहरूले २५सात जनालाई विदेश पठाएबापत बद्नियतपूर्वक सेटिङ गरी रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको मुख्य दाबी रहेको छ। भिजिट भिसा दुरुपयोगको प्रकृतिअनुसार बिगो माग दाबी गरिएको समेत प्रवक्ता लामिछानेले जानकारी दिए।