उपत्यकाका नदी सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट बनाउने तयारी [भिडियो]
फोहर पानी प्रशोधन प्लान्ट आवश्यक छ: मन्त्री घिसिङ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
828
Shares
काठमाडौँ। शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रका नदीहरूलाई सफा गर्नका लागि धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी भइरहेको बताएका छन्।
थापाथलीस्थित बागमती करिडोरमा निर्माणाधीन प्लान्टको शनिबार निरीक्षण गर्दै उनले बागमती, विष्णुमती, धोबीखोला लगायतका सबै नदी सफा गर्नका लागि प्रतिदिन ६ सय एमएलडी क्षमताको प्लान्ट आवश्यक पर्ने जानकारी दिए। उनका अनुसार हाल उपत्यकामा निर्माणधिन प्लान्टहरू यसको २० प्रतिशत मात्रै रहेको छ।
थापाथली करिडोरमा बनिरहेको 'वेस्ट वाटर ट्रिटमेण्ट प्लान्ट' ले टुकुचाको सम्पूर्ण ढल सिष्टमलाई सफा गरेर पानीलाई वागमतीमा फाल्नेछ। यो प्लान्ट एसियाली विकास बैंक को ३ अर्ब १८ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको छ। मन्त्री घिसिङले प्लान्ट निर्माणमा केही ढिलाइ भएको स्वीकार गरे। मुख्य कारणहरूमा रुख कटानीमा डेढ–दुई वर्ष लागेको र ललितपुरतर्फ पर्ने भूभागमा स्थानीयको विरोधले काम रोकिएको रहेको उनले बताए। ललितपुर पट्टीको काम रोकिँदा ओभरअल प्रोजेक्टमा नै केही ढिलाइ हुने देखिएको उनको भनाइ छ। काठमाडौँतर्फ बन्ने संरचनाहरू भने करिब डेढ वर्षभित्र सम्पन्न हुने उनले बताए। प्लान्टको संरचना काठमाडौँ महानगर र ललितपुर महानगरमा बन्न लागेको छ।
उनले हरेक परियोजनामा रुख कटाईमा समस्या हुने गरेको र सहजै रुख काट्न नपाइने कारण विकास निर्माणका काममा ढिलाई हुने गरेको उल्लेख गर्दै नदीहरूको ढल प्रशोधनका लागि सरकारले काम गरिरहेको जानकारी दिए।