arrow

एमाले सरकारमा मन्त्री बनेकी विच्छाको गयो प्रदेशसभा सदस्य पद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
kanchan-bichha.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की मधेस प्रदेशसभा सदस्य कंचन विच्छाको सांसद पद खारेज गरिएको छ। पार्टीको लिखित अनुरोधका आधारमा मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई पदबाट हटाइएको औपचारिक सूचना जारी गरेको हो।

नेकपा एमालेको नेतृत्वमा प्रदेश सरकार गठन भएपछि विच्छाले पार्टीको आधिकारिक निर्णयविरुद्ध गई प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री पद सम्हालेकी थिइन्। पार्टीले उनलाई तुरुन्तै मन्त्रीबाट राजीनामा दिन निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन्।

उनको यही अटेरीका कारण राप्रपाले पुस १२ गते प्रदेशसभामा पत्र पठाउँदै विच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न अनुरोध गरेको थियो। राप्रपाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ अनुसार सांसदबाट हटाइदिन माग गरेको थियो। 

सोही अनुरोधका आधारमा प्रदेशसभा सचिवालयले सचिव वासुदेव कोइरालाले जानकारी गराउँदै कार्यसञ्चालन नियमावली, २०७५ का नियम १९० र १९१ तथा ऐनको दफा ३५ को २ बमोजिम पद खारेजीको औपचारिक सूचना प्रकाशित गरेका छन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले विच्छालाई पार्टीको नीतिविपरीत अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै छ महिनासम्म साधारण सदस्यबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने निर्णय भएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ