हेटौँडा बजार क्षेत्रमा सडक विस्तार, सवारी आवागमनका लागि वैकल्पिक रुट लागू
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
1k
Shares
काठमाडौँ। पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौँडा बजार क्षेत्रमा सडक विस्तार कार्य सुरु भएपछि यातायात व्यवस्थापन सहज बनाउन सडक डिभिजन कार्यालय हेटौँडाले अस्थायी वैकल्पिक रुट लागू गरेको छ।
कार्यालय प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार मुख्य बजार क्षेत्रमा निर्माण कार्य जारी रहने भएकाले सवारी आवागमन प्रभावित नहोस् भन्नका लागि अस्थायी रुट परिवर्तन गरिएको हो। उनले सडक विस्तार तथा मर्मत कार्य चरणबद्ध रूपमा अघि बढाइने र निर्माण जारी रहेसम्म वैकल्पिक मार्ग प्रयोग गरेर मात्रै सवारी चलाइने बताए।
वैकल्पिक मार्ग र डाइभर्सन योजना:
मुख्य वैकल्पिक रुट को रूपमा रातोमाटे–त्रिवेणीधाम–राप्ती पुल मार्ग प्रयोगमा ल्याइएको छ। काठमाडौँ र चितवनतर्फ जाने सवारी साधनका लागि हेटौँडा–१ स्थित चौकीटोल (तिरतिरे धारा) बाट राप्ती पुल हुँदै रातोमाटेतर्फ मोडिने व्यवस्था मिलाइएको छ।
पूर्वतर्फबाट प्रवेश गर्ने सवारीलाई समेत रातोमाटेदेखि नै डाइभर्ट गरिनेछ। वीरगन्जतर्फ लाग्ने सवारीलाई मुख्य बजार क्षेत्रमै नल्याई वैकल्पिक बाटोतर्फ मोडिने व्यवस्था छ। पश्चिमतर्फ (चितवन वा काठमाडौँतर्फ) जाने सवारीलाई पुनः रातोमाटे–राप्ती पुल हुँदै नै चलाइनेछ। कान्ति र मदन भण्डारी लोकमार्गतर्फ जाने सवारीलाई कमाने हुँदै रातोमाटे पुर्याउने योजना छ।
अधिकारीले वैकल्पिक रुट सञ्चालनयोग्य बनाउन खाल्डाखुल्डी पुर्ने र ग्राभेल प्याक गर्ने लगायतका काम सुरु भइसकेको जानकारी दिए।