अब सोमबार बस्ने, कहिलेसम्म सार्न सक्ला संस्थापनले बैठक ?
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
2.6k
Shares
काठमाडौँ । आज दिनको २ बजे बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार उक्त बैठक स्थगित गरी अब सोमबार दिउँसो २ बजे का लागि बोलाइएको छ।
बैठक सोमवार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ भने यसमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरू को उपस्थिति रहनेछ।
कहिलेसम्म सार्न सक्ला संस्थापनले बैठक ?
गत असोज २८ गतेदेखि निरन्तर बसेको केन्द्रीय कार्यसमिति बैठक गत मंसिर ६ गते महाधिवेशन गर्ने मिति नै नतोकी सम्पन्न भएको थियो ।
त्यसपछि कांग्रेस संस्थापनका नेताहरुले फागुन २१ गतेको चुनावपछिमात्र महाधविशेन गर्ने भनी प्रचार गरेका थिए ।
त्यसको प्रतिवाद गर्दै चुनावअघि नै महाधिवेशन गरी नयाँ नेतृत्व र नयाँ एजेन्डासहित चुनावमा जानुपर्ने भनी विशेष महाधिवेशनको माग गर्ने पक्ष सक्रिय भएको छ ।
गत असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन बोलाउन गरेको आग्रहलाई नेतृत्वले लत्याएपछि अहिले आन्तरिक किचलो तीव्र भइरहेको छ ।
पार्टीको विधानलाई टेकेर विशेष महाधिवेशनको माग गरिएको भए पनि संस्थापनले भने यसलाई अटेर गरेको छ ।
विधानअुनसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवशेन गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय कार्यवाहक दिएर आफूले कार्यकारी अधिकार नलिने सन्देश दिएका सभापति शेरबहादुर देउवा १८ दिनको सिंगापुरको उपचार गरी फर्केपछि फेरि सक्रिय भएका छन् ।
उनले विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गरी सकभर नियमित महाधिवेशन नै आगामी बैशाखमा गर्न खोजिरहेका छन् ।
संस्थापन इतरका केही नेताहरुलाईसमेत ललिपप देखाएर फकाउन उनी र उनको पक्ष लागेको पाइएको छ ।
तर जेन–जी आन्दोलनपछि बदलिएको परिस्थितिको आँकलन गर्दै विशेष महाधिवेशन पक्षधरले कुनै पनि हालतमा पुसभित्र नियमित वा विशेष जे भए पनि महाधिवेशन गरी नयाँ नेतृत्वसहित चुनावमा जाने अडान छाडेको छैन ।
यस्तोमा संस्थापनले कहिलेसम्म बैठक सार्न सक्छ ? भनी प्रश्न भइरहेको छ । एक दिन बिराउँदै बैठक सार्दै आइएको छ । बैठक बस्न सकेकै छैन ।
पार्टीभित्र आन्तरिक छलफल गर्न डराउने फुर्सदिलो कांग्रेसको संस्थापनले प्रतिनिधिभाको निर्वाचनअघि नै महाधिवेशन नगरी सुखै छैन ।
संस्थापन इतरलाई गलाउन अनेक प्रपञ्च र चुनावका टिकट बाँडेर थम्थमाउने खेलसमेत भएको स्रोत बताउँछ ।