विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गरिन्छः शिक्षामन्त्री पुन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
857
Shares
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालका विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताए।
बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिविका सहकुलपति समेत रहनुभएका मन्त्री पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउने प्रयास भइरहेको बताए। उनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएपनि सो सम्बन्धी कानुन ल्याउन लागेको स्पष्ट पारे।
सो सम्बन्धमा कसरी कानूनी व्यवस्था गर्ने भन्नेबारेमा कानुनविद्हरूसँग छलफल भइरहेको समेत उनले जानकारी दिए। मन्त्री पुनले विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहेको बताए।
यस अवसरमा मन्त्री पुनले त्रिविका अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। सरकारले सो विश्वविद्यालयको अनुसन्धान केन्द्रहरूलाई देशको 'थिङ्क ट्याङ्क' को रूपमा स्थापित गराउन चाहेको उनको भनाइ थियो।