कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिने गर्यो निर्णय [भिडियो]
सरकारसँग माग्यो उचित वातावरण
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
987
Shares
काठमाडौँ। नेपाली कांग्रेसले अन्तरिम सरकारले २०८२ फागुन २१ गते घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको जानकारी पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले दिए। उनले जेन–जी आन्दोलनपछि विकसित राजनीतिको उचित निकास निर्वाचन नै भएको बताए।
प्रवक्ता महतले अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघटनको विषय राजनीतिक मात्र नभई संवैधानिक पनि भएको र सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुने नेपाली कांग्रेसको विश्वास रहेको बताए। उनले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको जानकारी दिए। निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनमा उठाइएको आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिने कांग्रेसको दृढ विश्वास रहेको छ।
यद्यपि, नेपाली कांग्रेसले निर्वाचनका लागि उचित वातावरण बनाउन समेत सरकारसँग माग गरेको छ। हजारौँ कैदीबन्दी जेल बाहिर हुनु, आन्दोलनका क्रममा लुटिएका हात हतियार फिर्ता ल्याउन नसक्नु, राजनीतिक दलहरूका कार्यक्रममा अवरोध गर्नु जस्ता कार्यले निर्वाचनको लागि उचित वातावरण नभएको कांग्रेसले जनाएको छ।
कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन का लागि निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ। यसका साथै, जेन–जी आन्दोलनमा भएका मृतकहरूलाई क्षतिपूर्ति दिन र घाइतेहरूको उचित उपचार गर्न, भदौ २४ गते भएको आगजनी, लुटपाट र आक्रमणमा संलग्नलाई कारबाही गर्न, तथा आर्थिक क्षति पुगेका व्यावसायिक प्रतिष्ठानलाई उचित क्षतिपूर्ति प्रदान गरी लगानीको वातावरण बनाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेसले सबै पक्षलाई संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न पनि आग्रह गरेको छ।