बिहीबार दिउँसो १२ः४५ देखि राति ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
926
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
बारा । नेकपा एमालेका कार्यकर्ता र जेन–जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बारा सिमरा बिहीबार पनि अशान्त बनेको छ ।
आज पनि विरोध प्रदर्शनी गर्दै युवाहरु सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरुबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।
जेन–जीले प्रदर्शन चर्काउन थालेपछि दिउँसो पौने १ बजेदेखि कर्फ्यु लगाइएको छ ।
बिहीबार दिउँसो १२ः४५ देखि राति ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म राजमार्गको ५ सय मिटर दाँयाबाँया र एयरपोर्ट क्षेत्रको ५ स मिटर आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको हो ।
एमालेका नेताहरू महासचिव शंकर पोखरेल र पोलिटव्युरो सदस्य महेश बस्नेत बुधबार सिमरा जाने थाहा पाएका जेन–जी युवाले सिमरा विमानस्थलमा नाराजुलुस गरेसँगै विमानस्थल नै बन्द गरिएको थियो ।
नेताहरु काठमाडौँबाट जानै पाएका थिएनन् । जेन–जी युवाले विरोध गरेपछि त्यसको प्रतिकारमा बारा एमाले निस्किएको थियो ।
जसका कारण बुधबार स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो । सहमतिपछि बुधबार बेलुका शान्त भएको सिमरा बिहीबार फेरि अशान्त बनेको छ ।
यसको पछाडि कुन समूहको हात छ भन्ने खुलेको छैन । एमालेका केही नेताहरुले माओवादी नेताहरुको हात रहेको आरोप लगाएका छन् । खुलुेर भने कोही आएका छैनन् ।
यता यो घटनाको चौतर्फी विरोध भइरहेको छ । सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउन खोज्ने तर नेताहरु यात्रा गर्ने वातावरणसमेत नबनाएको भन्दै सरकारको आलोचना भएको छ ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रमा सिमरा घटना सहनयोग्य नहुने भन्दै त्यस्तो दुस्कर्म नगर्न चेतावनी दिएकी छिन् ।