रौतहट । बाराको आधाभार जंगलमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं २२ दुई नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।
घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गर्दा आधाभार जंगलमा स्कूटी र घाँस भेटिएको थियो ।
उनीहरुले प्रहरीलाई खबर गरेपछि नेपाली सेनासहितको टोली घटना स्थलमा पुगेको हो ।
त्यसपछि प्रहरीले खोजतलास गर्ने क्रममा त्यही क्षेत्रमा चप्पल र केही रगतको दाग भेटिएको थियो । शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।