arrow

सिमरामा जेन–जी र एमाले समर्थकबीच झडप, कर्फ्यु आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
simara-bara-82-8-3.jpg

काठमाडौँ । जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल आसपास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको बताए । 

दुई समूहबीच पटक पटक झडप भइरहेको उनले जानकारी दिएका छन् । काठमाडौँबाट सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने जहाजहरू उड्न सकेका छैनन् । बिहानदेखि नै उडान ठप्प भएको थियो । 

कर्फ्यु बुधबार दिउँसो साढे १२ बजेदेखि राति ८ बजेसम्म लागि जारी गरिएको हो । एमाले नेताहरू काठमाडौँबाट सिमरा जाने जानकारी पाएपछि जेन–जी युवाहरूले प्रदर्शन गरेका हुन् । 

सो क्रममा युवाहरूबीच झडप भएको हो । काठमाडौँबाट एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारामा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेन–जी युवाहरूले प्रदर्शन गरेका हुन् ।

बुद्ध एयरबाट बिहान १०ः३५ बजे उडान भर्न लागेका नेताहरु जाने थाहा पाएसँगै जेन–जी युवाहरुले सिमरा विमानस्थलमा नाराबाजी गरेर विमानस्थल अवरुद्ध गरेका थिए ।

प्रदर्शनमा उत्रिएका जेन-जी समूहले सडकमा टायर बालेका छन् । प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच झडप हुँदा यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

जेन-जी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन जारी राखेका छन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ । यद्यपि सडकमा प्रदर्शन जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ