arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, तोकिएला महाधिवेशनको मिति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
congress-meeting-82-7-27ee.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी मुख्यालय बीपीनगर सानेपामा बस्ने कांग्रेसले जनाएको छ  । यो बैठक विशेषगरी बदलिँदो राजनीतिक परिस्थिति र पार्टीको महाधिवेशनको समय टुंगो लगाउन बसेकाले आजको बैठक निर्णायक हुने अपेक्षा गरिएको छ । 

गत कार्तिक २७ गते महामन्त्रीद्धय र एक उपसभापतिले सम्बोधन गरेपछि २८ गते नै कार्यवाहक सभापतिले निर्णय सुनाएर बैठक टुंग्याउनु पर्ने भए पनि विविध कारणले बैठक एक साता लम्बिएको छ । 

यसअर्थमा आज निर्णायक बैठक हुनेछ । 

ढिलै भए पनि सही निर्णय आउने अपेक्षा 

कार्यवाहक सभापति ले बैठकलाई छलफलमै सहमति गरेर टुंग्याउनु पर्नेमा गत शनिबार बिहान सामाजिक सञ्जालमा सन्देश दिँदै ढिलै भए पनि सही निर्णय आउने भन्दै साथ सहयोगका लागि अपेक्षा गरेका थिए । 

बैठक शनिबार पनि बसेन । सोमबार बस्ने भनिएको बैठक पनि सारियो । यो बीचको अवधिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का संस्थापनको गुटको बैठकमा भने व्यस्त रहे । कार्तिक २७ गतेपछि बैठक बसेको छैन । 

यसैबीच गत साता नै कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा १८ दिनको उपचारपछि स्वदेश फर्किसकेका छन् । यति हुँदाहुँदै पनि अब फेरि कांग्रेसले केका लागि बैठक लम्ब्याइरहेको छ भन्ने संकेत दिन थालेको छ । 

पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने छलफल भएको छ । गत असोज २८ गते सभापति देउवाले कार्यकारी खड्कालाई सुम्पेर महाधिवेशन छिटै गर्न आग्रह गरेका थिए । 

अहिले कांग्रेसका लागि महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने उत्तम समय भएको भए पनि संस्थापनले अटेर गरिरहेको छ । अहिले कांग्रेस सत्तामा पनि छैन र प्रतिपक्षको भूमिकामा संसदमा खडा हुनुपर्ने पनि छैन । प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भइसकेको छ । 

जेन–जी आन्दोलनपछि पुराना दलहरुलाई हेर्ने नजरसमेत बदलिएको अवस्थामा कांग्रेसले आफूलाई परिमार्जित गर्दै समय सान्दर्भिक अगाडि बढ्न महाधिवेशन गरी नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने जोड चलिरहेको छ । 

संस्थापन इतरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत असोज २९ गते नै बुझाएको थियो । सो मितिले पनि तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने पार्टीको विधानमा उल्लेख छ । 

त्यसलाई नकारेर संस्थापन जान मिल्दैन भन्ने संस्थापनलाई पनि थाहा छ । तर संस्थापन अझै पनि चुनावमा टिकट बाँडेरमात्र महाधिवेशन गर्ने ‘मुड’ मा रहेको आरोप छ । 

नियमित महाधिवेशन गर्दा पनि ०७८ मंसिरमा महाधिवेशन गरेको पार्टीले यही मंसिरको अन्तिममा महाधिवेशन गर्न सक्छ । महाधिवेशन प्रतिनिधिको मागअनुसार आगामी पुस २९ लाई नाघेर कांग्रेसले कुनै निर्णय गर्न सक्दैन । 

यस्तो अवस्थामा कांग्रेसले बैठक लम्ब्याएर भन्दा सही निर्णय सही समयमा गरेर महाधिवेशनमा होमिनुपर्ने सुझाव कांग्रेस बुद्धिजीवीहरूलेसमेत दिइसकेका छन् । 

आफूलाई निष्कलंक बताउँदै आएका कार्यवाहक सभापतिले कुनै पनि व्यक्ति वा गुटको पछि नलागी कांग्रेसको अस्तित्व जोगाउन सही निर्णय गरेनन् भने त्यसले परिणाम राम्रो नदिने निश्चित छ । 

संस्थापनकै २५ केन्द्रीय सदस्यलेसमेत चुनावअघि नै महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर बुझाइसकेका छन् । अब फेरि निर्णय गर्न केले ढिलाइ भएको हो भन्ने कार्यवाहक सभापतिले कुनै जानकारी दिएका छैनन् । 

यसअघि नै महामन्त्रीद्धयले कार्यतालिकासहित महाधिवेशनबारेको विचार सार्वजनिक गरिसकेका छन् । अब आज निर्णय आई कांग्रेस लयमा फर्किने अपेक्षाा धेरैको छ । 

कांग्रेसले फागुन २१ को निर्वाचनमा भाग लिने बताइसकेको अवस्थामा जनता सामु जान पनि नयाँ नेतृत्व र नयाँ एजेन्डा तय गरेरमात्र जानका लागि पार्टीभित्र दबाब छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ