arrow

राष्ट्रिय कर दिवस

जेन-जी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गरियोस्: अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १ सोमबार
chandra-dhakals.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ सुरु भएको 'जेन–जी' आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्। राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताको विषय निजी क्षेत्रको छाता संगठनले गत साधारण सभामा पनि पारित गरेको स्मरण गराए।

उनले आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताए। सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षा गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उनको भनाइ छ। आन्दोलनको दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले भने, "जेन–जीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो...यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो, चोरी, आगजनी, लुटपाट, तोडफोडहरू भयो। गलत गर्ने, घुसपेठ गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। तब मात्र आम निजी क्षेत्रको मनोबल उच्च हुनेछ।"

अर्थतन्त्रका समस्या औँल्याउँदै ढकालले बैंकमा ११ खर्बभन्दा बढी लगानीयोग्य रकम त्यत्तिकै थुप्रिएको जानकारी दिए। बैंकमा प्रशस्त रकम भए पनि कतिपय आयोजनाहरूमा लगानी नभएर बेवारिसे भएको र उनीहरूको लागत बढेको उनले बताए। साथै, उनले धितोपत्र बोर्डले लामो समय जलविद्युत् आयोजनाहरूलाई आइपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्रीलाई धितोपत्र बोर्डमा देखिएको समस्या तत्काल हटाउन आग्रह गरे। यसका साथै, उनले अर्थमन्त्रालयले फेसलेस हिसाबले अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा प्रशंसा पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ