कांग्रेस बैठक अन्तिम चरणमा, कार्यवाहक सभापति भन्छन् – पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
3.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम चरणमा पुगेको छ । गत असोज २८ गतेदेखि बसेको बैठक लामो समय लम्बिएर समय खर्च भइरहेको भन्ने चर्चा चलिरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको’ बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले विभिन्न टीकाटीप्पणी भए पनि ती सबै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने भन्दै ढिलै भए पनि सही निर्णय गर्ने आश्वासन दिएका छन् ।
उनले भनेका छन्, ‘इतिहासमै देश र पार्टी माथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, हाम्रा वगितका गल्ती–कमजोरी स्वीकारी नेपाली जनतासँग माफी मागेर, विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ।’
जेन जी आन्दोलनपछि कांग्रेसलाई पनि पुस्तान्तरण गरेर नयाँ जिम्मेवारीसहित चुनावमा होमिनु पर्ने जिम्मेवारी छ । तर संस्थापन र संस्थापन इतरबीच चुनावपछि कि चुनाव अघि महाधिवेशन गर्ने भन्नेमा निरन्तर किचलो छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले चुनावअघि नै विशेष महाधिवेशन गर्न माग गरिसकेका छन् । त्यतिमात्र होइन संस्थापनकै २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने सुझावसहित हस्ताक्षर बुझाएको सन्दर्भमा अब पार्टीले मंसिरभित्रै महाधिवेशनको प्रक्रिया थाल्नुपर्नेमा जोड दिइएको छ ।
महामन्त्रीद्धयले महाधिवेशनको प्रक्रियाको प्रस्तावसमेत केन्द्रीय समिति बैठकमा पेश गरिसकेका छन् ।
बिहीबार बसेको बैठक शुक्रबार विश्राम लिएर शनिबार दिउँसो २ बजेपछि बस्दैछ ।
यसो लेखेका छन् कार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमा – सबैमा जय नेपाल । मेरो बारेमा सार्वजनिक रुपमा यहाँहरुले गर्नु भएको जस्तो सुकै टिप्पणीहरुलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणिहरु नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छ्न् । इतिहासमै देश र पार्टी माथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, हाम्रा वगितका गल्ती–कमजोरी स्वीकारी नेपाली जनतासँग माफी मागेर, विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ। साथीहरु सबैले एकताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिई धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ।