परम्परागत बसाइसराई बाटो मासिएसँगै बढ्दै मानव–वन्यजन्तु द्वन्द्व [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
714
Shares
तस्बिर –दृष्टान्त विडारी, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाल र भारतबीच रहेको खुला सीमाना केवल दुई देशका जनताहरुका लागि मात्र नभएर, दुई देशको सीमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तु संरक्षण निकुन्जहरुका वन्यजन्तुहरुले पनि यसको उपयोग गर्ने गर्दछन् ।
नेपालको तराई भूभागका जंगल क्षेत्र भारतका जंगल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरुको आवगमन पनि निकै हुने गर्दछ ।
पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जंगली हात्तीको परम्परागत बसाइ सर्ने बाटो रहेको छ ।
जहाँ हरेक वर्ष कयौँ जंगली हात्तीहरु बसाईसराई गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जंगली हात्तीहरुको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिसहरुसँग उनीहरुको द्वन्द्व बढ्दो छ ।
खानेकुराको खोजी र वर्षाको पानीबाट बच्नका लागि यी हात्तीहरु बसाइँ सर्ने गर्छन् । प्रत्येक वर्ष यिनीहरुको बसाइँ सर्ने बाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् ।
जसले गर्दा हात्ती र मानसबीच द्वन्द्व बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले बढीगार्डको काम गर्छ ।
एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र, उनीहरुलाई खाने कुरा र खनिज कहाँ कहाँ पाइन्छ भनेर थाहा हुन्छ भनिन्छ ।
हात्तीहरुलाई उनीहरुको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तुबीचको द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ तर हाम्रो बाटोघाटो, नहर, खेती गर्ने जमीन आदि उनीहरुको बाटोमा परेको छ ।
हाम्रा पूर्वाधारहरु पनि वन्यजन्तु मैत्री छैनन् । जसले गर्दा द्वून्द्व न्यनीकरणमा समस्या परेको देखिन्छ ।