हेटौँडा । हामी प्रायः चराहरू अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ भन्ने सोच राख्छौँ । तर हेटौँडा उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार हेटौँडा उपमहानगरपालिकाभित्र मात्रै ३०० भन्दा बढी प्रजातिका चराहरू अवलोकन गरिएका छन् ।
यो तथ्यले हेटौँडालाई एक सम्भावित “अर्बन बर्डिङ गन्तव्य” को रूपमा उभ्याउने बलियो आधार दिएको छ । हेटौँडा भित्री मधेसमा पर्ने भएकाले यहाँको भू–आकृति अत्यन्त विविध छ । सालको जङ्गल, डाँडाकाँडा, तराईका समथर भूभाग, खोलानाला, सिमसार र खेतीयोग्य जमीन- यी सबैले विभिन्न चराहरूलाई उपयुक्त बासस्थान दिएका छन्। यही विविधताका कारण, यहाँ पहाडी र तराइ दुवै क्षेत्रका चराहरू एकै ठाउँमा देख्न सकिन्छ।
विशेषगरी जाडो महिनामा यहाँ चराहरूको चहलपहल उल्लेखनीय रूपमा बढ्छ । खोलानाला, सिमसार र माछापालन क्षेत्रहरूमा पानीसँग सम्बन्धित चराहरूको उपस्थिति धेरै देखिन्छ भने खेतीयोग्य जमिनहरूमा पनि विभिन्न प्रजातिका चराहरू नियमित रूपमा अवलोकन गर्न सकिन्छ ।
हेटौँडाको अर्को विशेषता भनेको—चरा अवलोकनका लागि टाढा जानु नै पर्दैन । मुख्य बजार क्षेत्रबाट करिब २००–३०० मिटर दूरीमा रहेको फरेस्ट क्याम्पसको जङ्गलभित्र मात्रै झण्डै १५० भन्दा बढी प्रजातिका चराहरू अभिलेख भएका छन् । यस्तो पहुँचयोग्य स्थानमा यति समृद्ध विविधता हुनु आफैँमा ठूलो सम्भावना हो ।
गरुड, बाज प्रजातिहरू र अन्य शिकारी चराहरू यस क्षेत्रको खाद्य शृंखलाको महत्वपूर्ण हिस्सा हुन् । साथै ठेउवा, सुइरो ठुँडे, र खोया हाँस जस्ता पानी र जमिन दुवैसँग सम्बन्धित चराहरू पनि यहाँ नियमित रूपमा देखिन्छन् ।
हेटौंडा केवल स्थायी रूपमा बस्ने चराहरूको बासस्थान मात्र होइन, यो एक महत्वपूर्ण माइग्रेटरी (प्रवासी) चराहरूको विश्रामस्थल पनि हो। धेरै प्रजातिका चराहरू माइग्रेसनका क्रममा यहाँ छोटो समयका लागि—कहिलेकाहीँ एक रात मात्र—बस्ने गर्छन् र पुनः आफ्नो यात्रामा अघि बढ्छन् । यसले पनि हेटौंडालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण इकोलोजिकल करिडोरको रूपमा स्थापित गर्छ ।
यसरी सहरभित्रै पाइने अर्बन बर्ड डाइभर्सिटीले हेटौंडालाई बर्डवाचिङ, वन्यजन्तु फोटोग्राफी र प्रकृति पर्यटनका लागि उत्कृष्ट गन्तव्य बनाउने सम्भावना बोकेको छ। उचित संरक्षण, हरियाली क्षेत्रको व्यवस्थापन र जनचेतना अभिवृद्धिबाट यसलाई अझ प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सकिन्छ।
अन्ततः हेटौंडा केवल सहरी विकासको केन्द्र मात्र होइन—यो चराहरूको समृद्ध, गतिशील र जीवित संसार पनि हो, जसलाई चिन्ने, जोगाउने र विश्वसामु चिनाउने समय आएको छ।