काठमाडौँ । सानै उमेरदेखि हामीलाई टाढा भाग्न सिकाएको भएर होला सर्प भन्ने बित्तिकै धेरैजसो मानिसको मनमा एक किसिमको डर बसेको हुन्छ । सर्पसँगको हाम्रो डर जन्मजात नभएर धेरै पछाडि मात्र विकास भएको हो ।
हुन पनि संसारभर बर्सेनी एक हजार भन्दा बदीको ज्यान सर्पको टोकाइबाट जाने गर्छ । अझै धेरै मान्छेहरूलाई त सबै सर्प विषालु हुन्छन् र टोक्ने बित्तिकै मरिन्छ भन्ने नै लागेको पाइन्छ ।
संसारभर पत्ता लागेका ३४०० भन्दा बढी प्रकारका सर्पमध्ये करिब ७०० प्रकारका मात्र विषालु हुन्छन् । त्यसमा पनि करिब २०० प्रकारका सर्पमा मात्र मान्छेको ज्यान लिन सक्ने विष हुन्छ ।
नेपालमा भने अहिलेसम्म ८९ प्रजातिका सर्प अभिलेख भएका छन् । तीममध्ये १८ प्रजातिका मात्र मान्छेको ज्यान लिन सक्ने विष भएका हुन्छन् । नेपालमा पाइने विषालु सर्पहरुमध्ये किङ कोब्रा(राज गोमन) र ब्यन्डेड करेत (लक्ष्मी नाग्) त संसारकै सबैभन्दा खतरनाक विष भएका सर्पमध्ये पर्छन् ।
दुवै प्रजातिका सर्प निकै लजालु स्वभावका हुन्छन् । अरु सर्पहरू खाएर आफ्नो पेट पाल्ने गर्छन् । त्यही कारणले उनीहरू आफ्नो विष अनावश्यक रूपमा खेर फाल्न चाहँदैनन् । यी दुवै सर्पले टोकेर मान्छेको मृत्यु भएका घाटना निकै कम भेटिन्छन् ।
अझै केही प्रजातिका सर्पहरूले त विष खेर फाल्न नचाहेएर सुख्खा टोकाइ पनि गर्ने गर्छन् । हाम्रो पर्यावरणमा मुसा, भ्यागुता, छेपारा, चराहरूको पनि सङ्ख्या स्थिर राख्न सर्पहरूको निकै ठूलो भूमिका छ ।
नेपालमा सfमान्यतया पाइने विषालु सर्पहरू गोमन, करेत्, हरेउ, बाघे सर्प आदि हुन् । खेतीयोग्य जमीनको अभाव, पानीको मुहानहरूमा फोहर, सवारीसाधनहरूसँगको ठक्कर, मान्छेले देख्यो कि मार्ने प्रवृत्ति जस्ता घटनाहरूले सर्प संरक्षणमा समस्या आइरहेको छ ।
यदि सर्प संरक्षणमा समयमै ध्यान नदिने हो भने भविष्यमा हाम्रा खेतहरू मुसाहरूले भरिनेछन् र खोलानाला भ्यागुताले । जस्ले हाम्रो खेती किसानी र पर्यावरणमा ठूलो नकारात्मक असर पर्नेछ ।