arrow

पचास लाख लगानी गरेर वनकुखुरा पालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
ban-kukhura-baglung.jpg

बागलुङ। घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् ।

एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं २ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो ।

वि.सं.२०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाल्न शुरू गरेका कँडेललाई शुरूमा व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उनको कालिज पालन व्यवसाय फस्टाउँदै गएको हो ।

रु २४ हजारमा चार ओटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु ५० लाख बढी लगानी गरिसकेा छन् ।१० रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराखेका छन् ।

कालिज व्यवसाय राम्रो हुँदै गएपछि उनले चल्लासमेत आफैँ उत्पादन गर्न थालेका छन । वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन् ।

१२ वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गरेका कँडेल पेशाले स्वास्थ्यकर्मी हुन। बिहान बेलुका कालिजको रेखदेख गर्ने उनी दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्छन्। सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिज पालनमा थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ ।

सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर शुरू गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित बनेका छन । अहिले उनको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् ।

एक हजार पाँच सय बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताए । दशैँतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उनले जानकारी दिए।

सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउँछन् । प्रतिकालिज रु दुई हजारदेखि रु दुई हजार पाँचसम्ममा बिक्री गर्दै आएको उनको भनाइ छ ।

“यो पेसा मेरो रहरको पेशा हो, मैले शुरूमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिज पालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो”, उनले भने, “पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु ।”

केही दिन अगाडि चितुवा फार्ममा पसेर एक सय ५० कालिज मारिदिँदा रु तीन लाख नोक्सानी व्यहोरेको उनले सुनाए ।

रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी छन्। कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिएका छन। यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।

पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । शुरूमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्दै आएको उनले जानकारी गराए । यस व्यवसायमा उत्पादन अनुसारको बजार पाउन भने मुस्किल पर्ने उनले सुनाए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ