arrow

तीव्र गतिमा रहेको पूर्वमन्त्रीको सरकारी गाडीले दियो ठक्कर, एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
aangbochey.jpg
कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार मोरङमा एक युवकको मृत्यु भएको छ।

मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा को १ झ ६५० नम्बरको स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामथान–५ का अन्दाजी ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १२ः१५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कर्पियोले बाटो क्रस गर्दै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका क्रममा दिउँसो ३ः१५ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुर्घटना हुँदा नेता आङ्बो स्वयं गाडीमा सवार थिएनन्। ‘गाडी उनका आफन्तलाई लिन जाँदै गरेको समयमा दुर्घटना भएको हो,’ उनले बताइन्। दुर्घटनाका बेला गाडी तीव्र गतिमा रहेको स्थानीयले बताएका छन्।

गाडी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। दुर्घटनापछि नेता आङ्बोले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले कानुनी प्रक्रिया र क्षतिपूर्ति उपलब्ध गराउने विषयमा आफ्नो पूर्ण साथ रहने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ