मदन भण्डारी राजमार्गमा सवारी दुर्घटना, दुईको मृत्यु, चार गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
895
Shares
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका वडा नं ४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ प २१४२ नम्बरको मोटरसाइकल तथा मप्र ०२-००६ प ५८४१ नम्बरको पल्सर मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुधौली नगरपालिका-११ टाडी निवासी ३४ वर्षीय रामकुमार कुमर र दुधौली नगरपालिका-३ निवासी २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा दुधौली-३ का २६ वर्षीय विप्लव धामी, सोही ठाउँका २७ वर्षीय वुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन् ।
त्यसमध्ये तीन जनाको अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरू बोल्न समेत नसक्ने अवस्थामा छन् ।
दुर्घटनाग्रस्त मप्र ०२-००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा क्षति भएको छ ।
ट्रक चालक धनकुटा छथर जोरपाटी गाउँपालिका-६ निवासी २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते चारै जनालाई उपचारका लागि दुधौली नगर अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सपना खड्काले जानकारी दिए ।