गणेशमानले जनतालाई सार्वभौम नागरिक बनाउन जीवनभर संघर्ष गर्नुभयो - प्रकाशमान
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
904
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे। उनले गणेशमान सिंहले नेपाल र नेपालीका लागि आफ्नो जीवनभर जनतालाई रैतीबाट अधिकार सम्पन्न सार्वभौम नागरिक बनाउन संघर्ष गरेको बताए। हरेक नेपालीले बोल्न, नियम अनुसार काम गर्न र स्वतन्त्र रहन पाउनुपर्ने अधिकारका पक्षमा उनले जीवनभर लडेको नेता सिंहले उल्लेख गरे।
नेता सिंहले गणेशमान सिंहको योगदानले नेपालमा लोकतन्त्र र प्रजातान्त्रिक मूल्य–मान्यता स्थापनामा निर्णायक भूमिका खेलेको बताए। उनले १०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य मात्र होइन, ३० वर्षको पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध पनि उहाँ अग्रपंक्तिमा रहेको स्मरण गरे। गणेशमान सिंहले ६ दशकभन्दा लामो सक्रिय राजनीतिक जीवन बिताएको, जसमा १५ वर्षभन्दा बढी कारावास भोगेको र १५ वर्ष निर्वासनमा भारतमा रहनुपरेको उनले बताए।
नेता सिंहले गणेशमान सिंहको त्याग, संघर्ष र बलिदानलाई सबै नेपालीले आदर्शका रूपमा लिनुपर्ने बताएका छन्। उनले गणेशमान सिंहको जीवन र विचार आज पनि नेपालको लोकतान्त्रिक यात्राका लागि प्रेरणादायी रहेको बताए।