काठमाडौँ । नेपाल स्काउटले खड्का ल्यान्ड प्रालिले सात दिनभित्र जग्गाको भाडा नरितेमा उसले त्यहाँ बनाएका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ । स्काउटले बिहीबार सावर्जनिक सूचना जारी गर्दैै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो ।
तोकिएको समयावधि भित्र जग्गा भाडा बापतको रकम बुझाउन नआएमा कामपा वडा नं २६ लैनचौरस्थित कित्ता नं १० मा स्काउटको जग्गामा बनेको भवन र सरसामान जफत गरिने सूचनामार्फत जनाइएको छ ।
साथै उक्त भौतिक संचरनाबाट पनि भाडा बापतको रकम असुलउपर हुन नआएमा घर जग्गा तथा अन्य जायजेथबाट समेत असुल उपर गर्ने चेतावनी स्काउटले दिएको छ ।
‘सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ । उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरजग्गा वा जायजेथाबाट असुल-उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।
कामपा साविक वडा नं २९ र हाल वडा नं २६ लैनचौरस्थित कित्ता नं १० को खानी विभागसँग सिमाना जोडिएको तीन रोपनी रैकर जग्गा भोगचलनका सम्बन्धमा स्काउट र खड्का ल्यान्डका बीच २०६५ सालमा १० वर्षका लागि सम्झौता भएको थियो ।
२०७५ मा सम्झौता अवधि सकिएको थियो । स्काउटले सम्झौता अवधि सकिएको भन्दै खड्काको कम्पनीलाई जग्गा छाड्न भने पनि उसले अटेरी गर्दै आएका थियो ।