गुरू घिमिरेको दाबी - कांग्रेसको अर्को खेमा ओलीको वरिपरि घुमिरहेको छ [भिडियाे]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
858
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् ।
उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरूलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए ।
घिमिरेले भने, ‘अहिले केपी ओली जीको बारेमा बोल्नेलाई पार्टीबाट नै निकाल्दिन्छु भनिरहनु भएको छ । मैले भन्नै पर्छ, ओलीको वरिपरि फेरि नेपाली कांग्रेसको एउटा खेमा घुमिरहेको छ अहिले पनि ।’
उनले पार्टी महाधिवेशनको समयबारे पनि टिप्पणी गर्दै निर्वाचनपछि मात्र बैशाखमा गर्ने भनिएकोमा प्रश्न उठाए ।
‘काँही नभएको जात्रा नेपाली कांग्रेसभित्र भएको छ । पार्टीमा सहमतिबाट महामन्त्रीले ल्याउने चलन छ भने अहिले सहमहामन्त्रीले ल्याइदिनुभएको छ । घरमुली भएर उहाँहरू झगडा गर्ने ?’ उनले व्यंग्य गर्दै भने ।
घिमिरेले विशेष महाधिवेशन र अविश्वास प्रस्तावका धाराबारे पनि स्पष्टता दिँदै दुवैलाई मिसाउने प्रयास गलत भएको बताए ।
उनले भने, ‘विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न दुई तिहाई बहुमत चाहिन्छ, त्यो फरक कुरा हो । विशेष महाधिवेशनको धारा १७(२) हाम्रो विधानको परिच्छेद ६ मा छ भने अविश्वासको धारा ४४ परिच्छेद १२ मा छ। यी दुई धारालाई मिसाउन मिल्दैन, यो त पानीको धारा होइन कि मिसाइदिने !’
उनले पार्टी नेताहरुलाई सुझबुझका साथ अघि बढ्न आग्रह पनि गरे ।
‘हाम्रो नेताहरूले संकटमा सुझबुझ देखाउनुभयो, मिलेरै पार्टीलाई यहाँसम्म ल्याउनुभयो । हरेक संघर्षमा हामीले विजय प्राप्त गरेका हौँ । अब पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा नेताहरूबीच सहमति आवश्यक छ,’ घिमिरेले भने ।