उपत्यकामा निरन्तर झरी, शुक्रबार सबैभन्दा बढी सुन्दरहरैँचामा वर्षा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
1k
Shares
काठमाडौँ । मोन्था चक्रवातका कारण भएको बदलीपछि नेपालमा वर्षा हुन अझै छाडेको छैन । आज दिउँसोदेखि मौसममा सुधार हुने भनिए पनि काठमाडौँ उपत्यकामा शनिबार बिहान झन् ठूलो झरी परेको छ ।
निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ भने चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने जनाएको छ ।
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा शुक्रबार रातिबाट सो प्रभाव कम भइ क्रमिक रुपमा मौसममा सुधार हुने देखिएको महाशाखाले जनाएको भए पनि अझै वर्षाकोप्रभाव उत्तिकै छ ।
साथै नेपालमा हाल पश्चिमी वाय र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
शुक्रबार सबैभन्दा बढी पानी सुन्दरहरैँचामा
यता शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ । यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा झापामा १७५ मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ ।
शुक्रबार राति पौने ११ बजेसम्मको मौसम विज्ञान विभागको रेकर्डअनुसार गोरखा जिल्लामा पनि १९० मिलिमिटर वर्षा भएको छ ।
सप्तरीमा १५६, उदयपुरमा १०२, मनाङमा ११५, सुनसरीमा ८२, नुवाकोटमा ८९, लमजुङमा ८२ मिलिमिटर वर्षा भएको छ ।