कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनमाथि छलफल हुने
महाधिवेशनकाे मिति तोक्ने बाध्यतामा संस्थापन
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
999
Shares
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा पुनः बस्दैछ।
गत असोज २८ गतेदेखि शुरू भएको यो बैठकमा यसअघि भदौ २३ र २४ गते भएको 'जेन-जी' प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनपछि विकसित राजनीतिक अवस्था तथा पार्टीको भूमिकाका विषयमा छलफल भएको थियो।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुँदैछ। हाल सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ। यस अवस्थामा नियमित महाधिवेशन गर्ने वा विशेष अधिवेशन गर्ने विषयमा चर्चा चलिरहेको छ।
नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित बहुमत नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान चलाएका थिए, जसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ।
असोज २८ गते सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
त्यसयता खड्काकै सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ। तिहार तथा छठ पर्व परेकाले कात्तिक १ गते अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी आजका लागि अर्को बैठक तोकेको थियो।
आजदेखि बैठकले फेरि निरन्तरता पाउँदैछ । महाधिवेशनको विकल्प नदेखेपछि पूर्णबहादुरले संस्थापनको छुट्टै भेला डाकेर आफूलाई मजबुत बनाउने प्रयास गरेका छन् ।