कटहरियाका कर्मचारीले आन्दोलन गरेपछि कामकाज प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
916
Shares
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेका कर्मचारीहरू पुन आन्दोलित भएका छन् । नगरपालिकामा कार्यरत करार र ज्यालादारीका कर्मचारीहरूले लामो समयदेखि तलब भत्ता नपाएको भन्दै बुधबारदेखि कार्यलयमा तालाबन्दी गरेका हुन् ।
दीपावली तथा छठ पर्व अगावै भुक्तानी गर्ने भनिएको भए पनि रकम अझै नआएकाले आन्दोलित हुनु परेको उनीहरूको भनाइ छ ।
नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मूल कार्यालयमा तालाबन्दी गरिएको कटहरिया नगरपालिका वडा नं ८ का कर्मचारी मुकुन्द यादवले बताए ।
उनका अनुसार छठ पर्व अघि नै तलबभत्ता दिने आश्वासन पाए पनि अहिलेसम्म नपाएको हो ।
‘लामो समयदेखि नगर सेवामा समर्पित छौँ’, उनले भने, ‘तर समयमा तलबभत्ता नपाउँदा अहिले दैनिक जीवन प्रभावित भएको छ ।’
आफूहरूको तलबको रकम भुक्तानी नहुँदासम्म आन्दोलन जारी राख्ने उनले चेतावनी दिए ।
कटहरिया नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले असोजमा दिएको लिखित आश्वासन कार्यान्वयन नगरेको उनको आरोप छ ।
यता, नगरप्रमुख अजय प्रकाश जयसवालले करारका कर्मचारीको मागप्रति गम्भीर रहेको बताएका छन् ।
यद्यपि विभिन्न समस्याका कारण तलबभत्ता भुक्तानी नभए पनि यथाशीघ्र दिने प्रतिवद्वता जनाए ।
कटहरिया नगरपालिकामा भएको आन्दोलनका कारण कामकाज प्रभावित भएको छ ।