स्थानीयका माग साताभित्रै पूरा गर्ने प्रतिवद्धतापछि खुल्यो बूढीनन्दाकाे ताला
माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
960
Shares
बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकामा लगाइएको ताला खोलिएको छ । स्थानीयका माग एक हप्ताभित्र सुनुवाई हुने निर्णयका साथ ताला खोलिएको हो ।
स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।
युवाहरूले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।
ताला खोलिनु पूर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख रामबहादुर बोहरा बीच छलफल भएको थियो । छलफल पश्चात् एक हप्ता भित्र माग पूरा गर्ने निर्णयका साथ ताला खालिएको हो ।
एक हप्ताभित्र माग सुनुवाई भएन भने पुनः तालाबन्दी गर्नेसमेत युवाहरूले चेतावनी दिएका छन् ।
कोल्टीमा दुई दशक पहिला नै विद्युत बने पनि जुड्डीगार्ड लघु जलविद्युत आयोजनाको नहर बेला बेला भत्किने र बिजुलीसमेत अनियमित भइरहने हुँदा स्थानीयले सास्ती खेप्न बाध्य छन् । जसले गर्दा मोबाईल चार्ज गर्नसमेत उनीलाई सामुदायिक रेडियोमा लाइन लाग्नुपर्ने अवस्था छ ।
स्थानीय जनता मुहान अभावले खानेपानीको समस्या भोग्न बाध्य छन् । नगरपालिका पछिल्लो समय विद्युत र खानेपानीको दीगो व्यवस्थापन गर्न जिम्मेवार बनेको देखिन्छ ।
बिजुलीको लागि केन्द्रीय प्रसारण लाइन जडानको अन्तिम तयारीमा पुगेको छ भने खानेपानीका लागि पनि बृहत योजना अघि बढाइएको छ ।