काठमाडौँ । नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा तिहार र छठ पर्वको लामो बिदापछि मङ्गलबारदेखि चहलपहल बढेको छ ।
पर्व मनाउन गाउँघर फर्किएका कर्मचारी काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा शुरू भएको हो ।
सिंहदरबारका मुख्य सचिवालय, मन्त्रालय र विभिन्न विभागमा बिहानैदेखि कर्मचारीको आवतजावत बढेको देखिन्छ ।
तिहार पर्वको भाइटीकादेखि छठ पर्वसम्म सरकारी कार्यालयमा सार्वजनिक बिदा थियो । तिहारपछि आइतबार एक दिनमात्र कार्यालय खुला भए पनि उक्त दिन सिंहदरबार सुनसान जस्तै थियो ।
अधिकांश कर्मचारी अझै पर्वको रमझममा व्यस्त रहेकाले उपस्थिति न्यून छ । सोमबार छठ पर्वको सार्वजनिक बिदा परेकाले कार्यालय बन्द रहे । तर मङ्गलबारदेखि भने पूर्णरूपमा कार्यालय सञ्चालनमा आएका छन् ।
सिंहदरबार परिसरमा बिहान १० बजेदेखि नै कर्मचारीको चहलपहल बढेको छ । गेटमा सुरक्षाकर्मीको जाँच, पार्किङ क्षेत्रमा सवारीसाधनको लाइन र कार्यालय भवनमा फाइल बोकेर हिँडडुल गर्ने कर्मचारीको दृश्यले प्रशासकीय गतिविधि फेरि तीब्र भएको संकेत गर्छ ।