arrow

तिहारसँगै जात्राको रौनक शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
darchula.png

दार्चुला । तिहारसँगै यहाँका विभिन्न स्थानमा जात्राको रौनक शुरू भएको छ । भाइटीका अर्थात द्वितीया तिथिबाट शुरू हुने जात्रा पूर्णिमाको दिन सकिन्छ ।

यहाँका शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्दछ ।

शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा बिहीबारदेखि जात्रा शुरू हुन्छ ।

जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । यहाँको लेकाली क्षेत्रमा दशैँ तिहारभन्दा जात्रालाइ बढी महत्व दिइन्छ । भाइटीका लगाएपछि शैल्यशिखर-७ स्थित लटिनाथ मन्दिर बन्तोली, मालिकार्जुन-३ स्थित लटिनाथ मन्दिर चौडमा जात्रा लाग्ने गर्दछ ।

यहाँका स्थानीयले जात्राको तयारी एक महिना अघिदेखि सुरु गर्छन् । जात्राको पूर्वसन्ध्यामा लेकम-५ मैखोली खर्क तथा मालिकार्जुन-३ लटिनाथ मन्दिर चौडमा सरसफाइ गरिएको स्थानीय राधावल्लव जोशीले जानकारी दिए ।

लटिनाथ मन्दिर बन्तोलीको व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्णरूपमा निषेध गरेको जात्रा संयोजक मनीराज जोशीले बताए ।

जात्रामा भक्तजनले पूजाआजा गर्नुका साथै दमाहालगायत बाजा बजाउने, डेउडा खेल्ने गर्दछन् । जात्राका लागि पहाड पुख्र्यौली घर भइ तराई बसोबास भएका तथा कामका सिलसिलामा गाउँ बाहिर गएकाहरू समेत फर्किएपछि यहाँका गाउँहरुमा जात्राको चलहपहल बढेको हो ।

जात्रालाई शान्त र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ