ब्राजिलका पूर्वराष्ट्रपतिसहित सात जनालाई १७ वर्ष जेल सजाय
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
2.4k
Shares
काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको नेतृत्वमा भएको विद्रोह प्रयाससम्बन्धी मुद्दामा सात जनालाई मङ्गलबार १७ वर्षसम्मको जेल सजाय सुनाएको छ ।
यसअघि सेप्टेम्बरमा अदालतले सन् २०२२ को चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि भएको असफल कू प्रयासमा बोल्सोनारोलाई दोषी ठहर गर्दै २७ वर्षको कैद सजाय सुनाएको थियो । त्यसै मुद्दामा उनका सातजना वरिष्ठ पूर्व सहयोगीहरू पनि दोषी ठहरिएका थिए ।
यो प्रकरणले वासिङ्टनसँग कूटनीतिक तनाव सिर्जना गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलका अधिकारीहरूले आफ्ना पुराना सहयोगी बोल्सोनारोविरुद्ध ‘राजनीतिक प्रतिशोध साँध्ने’ काम गरिरहेको आरोप लगाउँदै ब्राजिलका उत्पादनमा उच्च भन्सार शुल्क लगाएको दाबी गरेका छन् ।
मङ्गलबारको फैसलामा अदालतले एक सङ्घीय प्रहरी अधिकारी, पाँच जना सैनिक र स्वतन्त्र चुनावी लेखापरीक्षण संस्थानका अध्यक्षलाई इलेक्ट्रोनिक मतदान प्रणालीबारे गलत सूचना फैलाएको अभियोगमा दोषी ठहर गरेको न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बताए ।
“यी व्यक्तिहरूले सामाजिक अराजकता र राजनीतिक अस्थिरता सिर्जना गर्ने उद्देश्यले चुनावी प्रक्रियामाथि झुटा आख्यानहरू फैलाए”, न्यायाधीश मोरेसले भने । बोल्सोनारो मुद्दाका कारण वासिङ्टनले उनीमाथि प्रतिबन्ध लगाएको छ ।
सजायको अवधि सात वर्षदेखि १७ वर्षसम्म तोकिएको छ । दोषी ठहरिएका व्यक्तिले पाँच दिनभित्र अपील गर्न सक्नेछन् ।
अगस्टदेखि नजरबन्दमा रहेका बोल्सोनारोलाई अहिले सोसल मिडियामा अभिव्यक्ति दिन प्रतिबन्ध लगाइएको छ ।
उनी आफ्नो सजायको औपचारिक प्रकाशनको प्रतीक्षामा छन्, जसपछि उनका वकिलहरूले अपील दर्ता गर्ने तयारी गरेका छन् ।
सर्वोच्च अदालतले आगामी हप्तामा यसै प्रकरणमा संलग्न अन्य १६ जनामाथि पनि सजाय सुनाउने तयारी गरिरहेको जनाएको छ । एजेन्सी