arrow

तालहरू सुक्दै: डोजर प्रयोग र अव्यवस्थित सडक निर्माण मुख्य चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
taal-baglung.jpg

ढोरपाटन (बागलुङ)। बागलुङ जिल्लाका विभिन्न तालहरूमा पानीको सतह घटेर सुक्न थालेपछि तिनीहरूको संरक्षणमा गम्भीर चुनौती थपिएको छ। रुद्रताल, बराहताल, गाजा दह, खोरताल र बागलुङको बराहतालमा पानी सुक्नुको मुख्य कारण गाउँ तथा नगरपालिकाले संरक्षणको नाममा डोजर चलाउनु रहेको स्थानीयले बताएका छन्।

ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जाने सडक छेउमै छ। स्थानीय धनबहादुर पुनका अनुसार सात वर्षअघि नगरपालिकाले ताल वरपर डोजर लगाएपछि तालको करिब ९० प्रतिशत पानी सुकेको छ। पहिले धार्मिक आस्थाको केन्द्र मानिने यो ताल अहिले नामको मात्र भएको पुन बताउँछन्।

जैमिनीको गाजा दहमा पनि चार वर्षअघि डोजर लगाएर क्षेत्रफल विस्तार गर्दा झण्डै ४० प्रतिशत पानी घटेको स्थानीयको दाबी छ। त्यस्तै, काठेखोला गाउँपालिका–४ को खोरताल ६ वर्षअघिसम्म पानीले भरिभराउ रहे पनि अहिले हिलो र कमिला डुल्ने ठाउँ बनेको छ। स्थानीय गङ्गाबहादुर किसानले आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएपछि ताल सुकेको भन्दै जथाभावी सडक निर्माण र तालमा डोजर प्रयोगले पानी रित्तिएको बताए।

तमानखोला गाउँपालिकाले बराहताललाई व्यवस्थित गर्न रु ३० लाख लगानी गरेर संरक्षण थाले पनि उल्टै ताल नै सुक्न थालेको छ। गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको स्रोत भएको ठाउँमा डोजर प्रयोग गर्दा मुहान नै सुक्ने भएकाले अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेको बताए।

बागलुङ बजार नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल र रुकुमपूर्वको सिमानामा रहेको रिगतालमा पनि डोजर चलाएपछि पानी घटेको स्थानीयको भनाइ छ।

पानीको मुहानमै डोजर चलाउँदा ताल सुक्ने र जैविक विविधतामा असर पर्ने भन्दै स्थानीयले सरोकारवाला निकायहरूलाई ताल संरक्षणमा गम्भीर हुन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ