कांग्रेस केन्द्रीय समितिको पूर्ण बैठक असोज २८ गतेदेखि बस्ने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
1.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको पूर्ण बैठकको मिति दुई दिन पर सार्दै असोज २८ गतेबाट बस्ने निर्णय गरेको छ। यसअघि बैठक असोज २६ गतेका लागि बोलाइएको थियो।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन परामर्श समितिको बैठकले यो निर्णय गरेको हो। बैठकमा पार्टीको महाधिवेशन विधि र प्रक्रियासम्मत गर्ने विषयमा छलफल भएको छ।
पार्टी नेताहरूका अनुसार, आगामी केन्द्रीय समिति बैठकमा मुख्यगरी प्रतिनिधिसभाको निर्वाचन र संसद पुनर्स्थापनाको विषयमा छलफल गरेर निष्कर्ष निकालिनेछ र राजनीतिक मुद्दाहरूमा कांग्रेसले स्पष्ट धारणा राख्नेछ। कांग्रेसले संसद विघटनलाई असंवैधानिक मानेको छ, यद्यपि निर्वाचनमा जाने कुरा राजनीतिक दृष्टिकोणबाट जायज रहेको बताउँदै आएको छ। तर, सरकारले निर्वाचनका लागि गम्भीरतापूर्वक काम नगरेको आरोप पनि कांग्रेसले लगाएको छ।
साथै, बैठकमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको घटनालाई गहिराइमा गएर छलफल गरिएको थियो। नेताहरूले सुशासन र सामाजिक सञ्जाल खोल्ने कुरामा केन्द्रित आन्दोलनको दोस्रो दिनको घटनाले जटिलता उत्पन्न गरेको र यसले राष्ट्रिय तथा राजनीतिक दलहरूको जीवनमा पनि ठूलो असर पारेको निष्कर्ष निकालेका छन्। केन्द्रीय समितिको एजेन्डाबारे थप छलफल गर्न केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार पनि बस्ने बताइएको छ।