arrow

विपद्ग्रस्त क्षेत्रमा महामारीको चेतावनी: खाद्यान्न र पानीको गुणस्तरमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
health-spokeperson.jpg

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गरिने खाद्यान्न, पानी तथा लत्ताकपडाको गुणस्तरीयता कायम राख्न सम्बन्धित सबै निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ। मन्त्रालयले वितरण सामग्री गुणस्तरहीन भए एक-दुई हप्ताभित्र हैजा र झाडापखालाजस्ता महामारी फैलिने जोखिम रहेको भन्दै चेतावनी दिएको छ।

बिहीबार राहत व्यवस्थापनसम्बन्धी छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरू दूषित भइसकेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्रै हैजा, टाइफाइड जस्ता प्रकोप देखा पर्न सक्ने बताए।

उनले मानवीय संवेदनामा सचेत भएर काम गर्न सबैलाई आग्रह गर्दै भने, "यदि यहाँहरूले मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुभएन भने अबको एक-दुई हप्तामा फेरि महामारी फैलिन्छ। पानी प्रदूषण भएकै कारणले हैजा, झाडापखाला, टाइफाइड जस्ता रोगहरूको प्रकोप फैलिने सम्भावना रहन्छ।"

प्रवक्ता बुढाथोकीले विपद् व्यवस्थापनमा खटिएका निकायहरूलाई पानी र खाद्यान्न वितरणमा विशेष सावधानी अपनाउन निम्न निर्देशन दिए:

पिउने पानी: जुनसुकै स्रोत वा मुहानको पानी भए पनि उमालेर मात्र पिउनुपर्छ भन्ने सन्देश सबै नागरिकसम्म पुर्‍याउन आवश्यक छ। मिनिरल वाटर वितरण गरे पनि पानी उमालेर प्रयोग गर्नुपर्ने सन्देश प्राथमिकतामा हुनुपर्छ।

खाद्यान्न: ताजा खानेकुरा बनाएर दिनु सबैभन्दा राम्रो हो। यदि त्यो सम्भव नभएमा 'जङ्कफुड' हरू दिएर भोलिको दिनमा बिरामी नबढाउन भनिएको छ। तयारी खानेकुरा वितरण गर्दा म्याद हेरेर मात्र दिनुपर्ने र म्याद गुज्रिएको खाद्यान्नले अर्को महामारी फैलाउन सक्नेमा सचेत गराइयो।

मन्त्रालयले वितरण गरिने लत्ताकपडाको गुणस्तरीयता कायम राख्न पनि सबैलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ