मध्यपहाडी लोकमार्गको १३ किलोमिटर खण्ड एक दशकदेखि अलपत्र
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
792
Shares
ढोरपाटन (बागलुङ)। बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक खण्ड निर्माण सुरु भएको एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ। निर्माण व्यवसायीको चरम लापरबाहीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसकेको दैलेखस्थित मध्यपहाडी लोकमार्ग कार्यालयले जनाएको छ।
मध्यपहाडी लोकमार्ग कार्यालयका सूचना अधिकारी नवीन खरालका अनुसार, विसं २०७३ जेठ १३ भित्रमा कालोपत्र गरिसक्ने गरी ४२ करोड ९९ लाख चार हजार रुपैयाँमा सम्झौता भएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ। पटकपटक म्याद थपेर पनि निर्माण कम्पनीलाई काम पूरा गर्न निर्देशन दिइएको उहाँले बताए।
सूचना अधिकारी खरालले मध्यपहाडी लोकमार्गमा दैनिक सयौँ यात्रु यात्रा गर्ने भए पनि पातिहाल्नेदेखि रुपगासम्म कालोपत्र गर्न सबै तयारी हुँदा पनि लामो समयदेखि निर्माण कम्पनी नआउँदा बनेका संरचना पनि भत्किएका छन्। राष्ट्रिय गौरवको यो आयोजना अलपत्र पर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ।