विपद्पछिको पुनर्निर्माणमा एकजुट हुन माओवादी केन्द्रको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
938
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको छ। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले विपद् प्रतिकार्यमा खटिएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिने निर्णय गरेको छ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे सामान्य कुराकानी भएको र दुई दिनपछि बस्ने सचिवालय बैठकमा विस्तृत छलफल हुने जानकारी सापकोटाले दिए। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे 'ब्रिफिङ' गरेका थिए।
संयोजक दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी गराएका थिए।
दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, “निर्वाचन सम्पन्न गरेर मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ, त्यसकारण चुनावलाई माओवादीले उच्च प्राथमिकतामा राखेको छ।” निर्वाचनमा जाने विषयमा सबै पार्टीभित्र सकारात्मक छलफल भइरहेको र आमसहमति बन्दै गएको उनको दाबी छ।
बैठकमा महाधिवेशनको कार्यविधि बनाउने, आयोजक समिति निश्चित गर्ने र विचार, सङ्गठन तथा राजनीतिक कार्यदिशाका बारेमा पनि सामान्य छलफल भएको थियो।