arrow

इलामको हिमाली गाउँमा वर्षाको नयाँ रेकर्ड, मनसुनले ट्र्याक फेर्दा भीषण क्षति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
bibhuti-pokhrels.jpg

काठमाडौँ। गत असोज १७ र १८ गतेको भीषण वर्षाका कारण नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागकाअनुसार हिमाली गाउँमा ३२०.६ मिलिमिटरको यसअघिको रेकर्ड ब्रेक गर्दै यस वर्ष ३३२.६ मिलिमिटर वर्षा भएको छ। यो रेकर्ड यस वर्षको बेमौसमी वर्षाको क्रममा बनेको हो।

विभागकी प्रवक्ता तथा वरिष्ठ मौसमविद् विभूति पोखरेलले दिएको जानकारीअनुसार इलामको हिमाली गाउँसहित चार स्थानमा वर्षाले विगतको रेकर्ड तोडेको छ। हिमाली गाउँपछि रौतहटको गौर मा२ ३१५ मिलिमिटर (विगतको ३०१.५ मि.मि. रेकर्ड), पर्साको वीरगञ्जमा २९४.५ मिलिमिटर (विगतको २७३.२ मि.मि. रेकर्ड) र इलाम टि—स्टेटमा २८० मिलिमिटर (विगतको २७३.२ मि.मि. रेकर्ड) वर्षा भएको छ।

पोखरेलका अनुसार, यो अवधिमा १०५ वटा केन्द्रहरूमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ, जसमध्ये पाँच वटा केन्द्रहरूमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको थियो।

मौसमविद् पोखरेलले मनसुनले आफ्नो ट्र्याक परिवर्तन गरेर वाग्मतीबाट कोशी प्रदेशको इलामतर्फ द्रुत गतिमा पुगेका कारण इलाममा पूर्वानुमान विपरीत बढी वर्षा भई क्षति हुन पुगेको बताएकी छिन्। विभागले वाग्मती र कोशी प्रदेशलाई खतरायुक्त स्थानमा राखेको भए पनि इलामलाई उच्च खतरा (रेड अलर्ट) मा नराखे पनि 'हाई अलर्ट' मा भने राखिएको थियो।

वरिष्ठ मौसमविद् पोखरेलका अनुसार देशभरका सबै स्थानबाट मनसुन पूर्ण रूपमा बहिर्गमन भइसकेको छैन। हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भूभाग र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बहिर्गमन भइसकेको छ। बाँकी प्रदेशहरूमा अझै मनसुन सक्रिय रहेकाले सबै मनसुन बहिर्गमन भइसकेपछि मात्रै नेपालभरमा परेको पानीको वास्तविक तथ्याङ्क आउने उनले बताएकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ