कांग्रेसको वडादेखि केन्द्रसम्मको संरचनामा परिवर्तन आवश्यक : उमेशजंग रायमाझी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
1.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले आफूहरुले वडादेखि केन्द्रसम्म पार्टी संरचनामा परिवर्तन चाहेको बताएका छन् ।
उनले यही असोज २६ गतेदेखि बस्ने काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीलाई नयाँ ढंगले परिस्कृत गर्ने निर्णय गर्ने जानकारी दिए ।
देश हाल प्रतिकुल र पीडादायी अवस्थामा रहेको बताउँदै उनले नयाँ चुनौतीको समाधान गर्न पार्टीलाई नयाँ उर्जा र उत्साहका साथ अगाडि लैजाने बताए ।
उनले जेन-जी आन्दोलनपछि राजनीतिक, सामाजिक र सुरक्षात्मक अवस्थाले मुलुकलाई गम्भीर संकटतर्फ धकेलिरहेको बताए ।
कठिन अवस्थामा देशको जिम्मेवारी मुख्य राजनीतिक दलको रूपमा नेपाली काँग्रेसकै काँधमा आएको उनको भनाइ छ ।
ऐतिहासिक र प्रजातान्त्रिक पार्टी भएकाले वर्तमान संकटको समाधान कांग्रेसले खोज्न सक्नुपर्ने उनले बताए ।
यो कांग्रेसको दायित्व पनि रहेको भन्दै उनले केन्द्रीय समितिको बैठकमा पार्टीको संगठनात्मक संरचना र नीतिगत दिशाबारे गम्भीर छलफल हुने स्पष्ट पारे ।
उनले भने, ‘नेपाली काँग्रेसको यही असोज २६ गते बैठक छ । देश अत्यन्त प्रतिकुल अवस्थामा छ । देश जलेकै छ भन्नुपर्यो । नागरिक मारिएका छन्, युवा, विद्यार्थी, बच्चाहरू मारिएका छन् । राज्यका संयन्त्र, संयन्त्रहरु भत्किएका छन्, जलेका छन् । सुरक्षाकर्मीहरु पनि मारिएका छन्, अरु सर्वसाधारण पनि मारिएका छन् । यो अत्यन्त्र दुःखद् अवस्था छ । नेपाली काँग्रेस चाहीँ मुख्य पार्टी भएको कारणले, मुल पार्टी, ऐतिहासिक, प्रजातान्त्रिक पार्टी भएको कारणले यसको जिम्मेवारी पनि कांग्रेस पार्टीमा बढी छ । उत्पन्न परिस्थितिको समाधान गर्नसक्नु काँग्रेसको, हाम्रो दायित्व हो । २६ गतेको बैठकले नयाँ ढंगले काँग्रेसलाई कसरी परिस्कृत गर्ने, परिमार्जित गर्ने र नयाँ चुनौतीको सामना कसरी गर्ने ? भन्ने कुरामा हामी चिन्तित छौँ । हामी गम्भिर रुपमा छलफल गरिरहेका छौँ । समग्रमा सम्पूर्ण रुपमा वडादेखि केन्द्रसम्म पार्टी संरचनामा हामी परिवर्तन चाहन्छौँ । परिवर्तन गरेर नयाँ ढंगले, नयाँ उर्जा र उत्साहका साथ काँग्रेसलाई अगाडि लैजाने हाम्रो सोच छ । त्यसैअन्तर्गत हामी निर्णय गर्छौँ ।’
बाढी-पहिरोका कारण उत्पन्न विपत्तिप्रति दुःख व्यक्त गर्दै केन्द्रीय सदस्य रायमाझीले सरकारले विपद्मा गरेको कार्यमा धन्यवाद ज्ञापन गरे ।
तर उनले सरकार सञ्चालन वैधानिक तरिकाले र वैध नेतृत्वमार्फत हुनुपर्नेमा जोड दिए । ‘हामी नेपाल’ नामक एक एनजीओका सुदन गुरुङले शनिबार राष्ट्रिय विपद प्राधिकरणको बैठकमा सहभागी भएर उच्च सरकारी अधिकारीहरूसँग लिएको ब्रिफिङदेखि तथ्याङ्क मागेको र निर्देशन दिएकोप्रति लक्षित गर्दै उनले संवैधानिक रुपमा सरकार सञ्चालन हुनुपर्नेमा सचेत गराए ।
असंवैधानिक शक्ति केन्द्रहरू हावी हुन थाले भने मुलुकको राजनीति धमिलो बन्ने उनको भनाइ छ । अहिले विपद्को नाममा हस्तक्षेप शुरू भए भविष्यमा विकास, अर्थ, परराष्ट्र र सुरक्षाका नाममा पनि प्रभाव बढ्न सक्नेतर्फ उनले सचेत गराए ।
उनले भने, ‘बाढी पहिरोको जुन दुःख छ । यसमा सरकारले जे जति गरिरहेको छ, त्यसको लागि धन्यवाद छ । तर सरकार सञ्चालन चाहीँ वैधानिक तरिकाबाट हुनुपर्छ, वैध मानिसबाट हुनुपर्छ । पञ्चायतको समयमा एउटा भनाई थियो, भूमिगत गिरोह भनेजस्तो । असंवैधानिक शक्ति केन्द्रहरू यदी विस्तारै हावी हुन थाले भने त्यसले मुलुकको राजनीतिलाई धमिलो बनाउँछ । अहिले त बाढी पहिरोको नाममा छ, भोलि विकासका नाममा, अर्थका नाममा, परराष्ट्रका नाममा पनि उनीहरुको हस्तक्षेप बढ्न थाल्छ । उनीहरुले आफ्नो भूमिका खोज्न थाल्छन्, सुरक्षाका नाममा । त्यतिबेला राज्य फेलिअर स्टेजमा जान्छ । त्यसैले योबाट वर्तमान सरकारको नेतृत्व शतर्क हुनुपर्छ, सचेत हुनुपर्छ । यो सरकारलाई हाम्रो शुभकामना छ, यसले आफूले भनेको समयमा निर्वाचन सम्पन्न गरोस् । हामी सरकारलाई सरकारजस्तो भएर निरिह भएर होइन, कसैको कठपुतली भएर होइन, नेपालको सरकार हुँ भन्ने अनुभूतिका साथ काम गर्न पनि शुभकामना दिन चाहन्छु ।’
नेता रायमाझीले वर्तमान सरकारले जिम्मेवार र स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिए । सरकारले आफूले तोकेको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने पनि उनले बताए । उनले सरकारलाई निरिह नभई नेपालको सरकार हुँ भन्ने आत्मविश्वासका साथ काम गर्न आग्रह गरे ।