भारी वर्षाका बाबजुद दशैँको टीका लगाउने क्रम जारी, यात्रा प्रभावित
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
840
Shares
काठमाडौँ। शुक्रबार साँझदेखिको निरन्तर वर्षाका बाबजुद पनि नेपालीहरूमा मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने यो क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म चलिरहन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमाको दिन अखिल बलि पूर्ति पर्दछ। नेपालीहरूले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिनलाई बडादशैँ पर्वका रूपमा भव्यताका साथ मनाउँछन्।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ। काम विशेषले टाढा रहेका परिवारका सदस्यहरू पनि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्ने गर्दछन्। विजयादशमीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने शास्त्रीय मान्यता छ।
यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले टाढाटाढाबाट मान्यजनकहाँ आशीर्वाद लिन जानेहरूको तालिका प्रभावित भएको छ। भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ।
वर्षाका कारण यात्रामा बाधा पुगे पनि नेपालीहरूले सावधानी अपनाउँदै दशैँको टीका र आशीर्वाद ग्रहण गर्ने परम्परालाई निरन्तरता दिइरहेका छन्।