दशैँपछि यात्रुसँग बढी भाडा लिने सवारीसाधनलाई चितवन प्रशासनको कारबाही
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
884
Shares
चितवन। दशैँ मानेर राजधानी फर्कने यात्रुहरूसँग बढी भाडा लिएको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले यो कारबाही गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले दिएको जानकारीअनुसार प्रमुख जिल्ला अधिकारी अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारीसहितको टोलीले नारायणगढको पुलचोक, पोखरा बसपार्क र आँपटारीमा सडक जाँच गरेको थियो।
अनुगमनका क्रममा बढी भाडा लिने ६ जनालाई नियन्त्रणमा लिइयो। उनीहरूले यात्रुलाई बढी भाडाको टिकट दिएर चलानी (Bill) मा कम रकम उल्लेख गरी ठगी गरेका थिए। प्रहरी निरीक्षक शर्माले २५ वटा माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको बताए।
प्रमुख जिल्ला अधिकारी अर्यालले चलानीबिना यात्रु लिएर हिँडेका र बढी भाडा असुल गरेका चालकहरूलाई सचेत गराइएको, भाडा फिर्ता गराइएको, जरिवाना लगाइएको र नियन्त्रणमा लिइएको बताए। अटेर गर्नेलाई पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए। यो अनुगमन चितवन हुँदै काठमाडौँतर्फ गुड्ने सवारीसाधनमा केन्द्रित थियो।
प्रहरी उपरीक्षक पुरीले दशैँपछि काठमाडौँ फर्किनेको चाप बढेकाले यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेको गुनासो बढेपछि नियमित रुपमा अनुगमन गर्न थालिएको बताए।